पेट्रोलियम पाइपलाइनको १७ किलोमिटर



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजानअन्तर्गत रक्सौल–अमलेखगन्ज सडकखण्ड ३६ दशमलव २८ किलोमिटरमध्येमा १७ किलोमिटर पाइपलाइन बिच्छ्याउने काम पूरा भएको छ।

पथलैया–अमलेखगन्ज सडकखण्डको वन क्षेत्रको ८ किलोमिटर बाँकी रहेको छ, जसको वन मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकनको क्रममा रहेको नेपाल आयल निगमले जनाएको छ। वातावरणीय प्रभाव मूल्याकंनका कारण पाइपलाइन विस्तारमा ढिला भएको छ। २ सय ४५ भौतिक संरचना हटाउनुपर्ने निगमले सडक विभागलाई सिफारिस गरेको थियो। ती संरचनाको ४ किलोमिटरमा पाइलाइन विस्तार गर्नुपर्नेछ।

केही क्षेत्रमा भने ड्रिल गरेर पाइपलाइन विस्तार गर्ने योजना निगमको रहेको छ। जीतपुर बजार परवानीपुर बजार भन्सार पथलैया क्षेत्रमा पाइपलाइन विस्तारको काम बाँकी रहेको छ। १ सय १८ मिटरसम्म ड्रिलिङ होरिजेन्टल डारेक्सनल ड्रिलिङ गरिसकेको छ भने अरू १७ स्थानमा ड्रिलिङ गर्ने तयारी रहेको पाइपलाइन परियोजनाका इन्जिनियर शरद पौडेलले बताउनुभयो। बाइपास क्षेत्रको ७ किलोमिटर खण्डमा करिब १ किलोमिटर बाँकी रहेको छ। गंठक चोकबाट परवानीपुरसम्म खाल्टाखुल्टी रहेकाले त्यता पनि पाइपलाइन बिच्छ्याउने काम थाँती राखिएको थियो। पाइपलाइन विस्तारको क्षेत्रमा पर्ने सडक विभागको जग्गा अतिक्रमण गरेर बनाइएका भैतिक संरचनाले पाइपलाइन विस्तारमा अवरोध भएपछि निगमले विभागलाई हटाउनका लागि अनुरोध गरेको हो। यसका लागि विभागले सूचना जारी रेखांकनसमेत गरिसकेको निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो।

नेपाल आयल निगमले करिब ३ महिना अगाडिबाट पाइप बिछ्याउन शुरू गरेको थियो। निगमले बाराको जीतपुरबाट पाइप बिछ्याउने काम थालेको थियो। बिच्छ्याएको पाइपलाइनबाट पहिलो चरणमा डिजेल आयात गरिने निगमले जनाएको छ। निगमले बाराको जीतपुर–सिमराबाट पाइप बिछ्याउने काम थालेको थियो। मोतीहारी–अमलेखगन्ज हुँदै पाइपलाइन विस्तार हुनेछ। मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ। १६ हजार किलोलिटर इन्धन मौज्दातका लागि ४ ट्यांकीलाई स्तरोन्नति गरिँदै छ। ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका २ ट्यांकीलाई स्तरोन्नति गरिँदै छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये भारतीय आयल निगम (आईओसी) को २ अर्ब र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। बरेली नाकाबाट आयात हँुदै आएको पेट्रोलियम पदार्थ भने अब मोतीहारीमा नै आईओसीले डिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्नेछ। भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाइ रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ।

काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने निगमको दाबी छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हुँदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो।

इन्धन ढुवानी नगरे सम्झौता खारेज

काठमाडौं, (नेस)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीकर्तालाई आपूर्ति सहज बनाउन निर्देशन दिएको छ। निगमको निर्देशन पालन नगर्ने ट्यांकर चालकलाई हटाउनेसमेत जनाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चालकलाई सूचना जारी गर्दै हटाउने चेतावनी दिएको हो।

ढुवानीकर्ता र ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ आपूर्ति सहज र सरल बनाई आपूर्ति व्यावस्था मिलाउन निगमले कडा निर्देशन दिएको हो।

निगमले सूचना जारी गर्दै भनेको छ– ‘यातायात क्षेत्रमा सञ्चालित केही सवारी चालकको उक्साहटमा निगम सम्बद्ध केही ढुवानीकर्ताले उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक पेट्रोलियक पदार्थको ढुवानीमा अवरोध सिर्जना गर्ने दुश्प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

निगमले ट्यांकर चालकहरूको भत्ता तलबमा वृद्धि गरी मागलाई सम्बोधन गरिसकेको अवस्थामा पनि चालकहरूले अवरोध उत्पन्न गरी आपूर्तिमा सहयोग नगरेको अवस्थामा चालकहरूलाई आन्दोलन फिर्ता नलिए सेवाबाटै हटाउने निगमले चेतावनी दिएको हो। पेट्रोलियम पदार्थको आपूर्तिमा, बिक्री वितरणमा सहयोग नगर्ने कार्य गरेमा निमगको नियमावलीबमोजिम ढुवानी सम्झौता खारेज गरिनेसमेत जनाएको छ। निगमले सेकुरेटी लकिङ सिस्टम लागू गरेसँगै ट्यांकर ढुवानी चालकहरूले तेल अपचलन गर्न नपाएपछि यो र त्यो वहानामा आपूर्तिमा असहयोग गर्दै आएको निगमको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्