पुटिनमाथि हत्याको षड्यन्त्र गरेको मोडलको आरोप



सल्सवरी, (एजेन्सी)
रुसकी ३० नर्षीया एक मोडलले राष्ट्रपति पुटिनमाथि आफ्नो हत्या षड्यन्त्र गरेको आरोप लगाएकी छिन्। ४२ वर्षीय पतिसँग इंग्ल्यान्डको सेल्सवरी सहरको एक रेस्टुरेन्टमा डिनर लिइरहँदा मोडल अन्ना सापिरोका पतिको स्वास्थ्य बिग्रेको थियो। सुरक्षा अधिकारीका अनुसार मोडल र उनका पतिलाई मुसा मार्ने औषधि दिएर हत्या गर्ने समूहले उक्त कार्य गरेको बताए।

उक्त सहरमा केही दिनअगाडि मात्रै भएको यस प्रकारको घटना बाहिर आएको थियो। सुरक्षाकर्मीहरुले भविष्यमा पनि यस प्रकारको घटना हुन सक्ने सम्भावना रहेकाले आफूहरु त्यसप्रति विशेष सतर्कता अपनाइरहेको जानकारी दिए। द सनलाई दिएको एक बयानमा सापिरोले भनिन्– हामी रेस्टुरेन्टमा खाना अर्डर गर्यौं, तर केही समयपछि पिजा खाएर बाथरुम गएका मेरा पति त्यहीं लडे र उनको मुखबाट फिँज निस्कन थाल्यो।

सापिरो रुसी मुलकी इजरायली हुन्। सन् २००६ मा आफ्नो परिवारविरुद्ध उनले इजरायलको नागरिकता लिएकी थिइन् र अहिले उनी इंग्ल्यान्डमा बसिरहेकी छिन्। उनले भनिन्– ‘म सार्वजनिकरूपमा भनिरहेको छु, यसको पछाडि पुटिनको षड्यन्त्र छ। मेरो पिता रुसको सेनामा ठूलो पदमा थिए। मेरो परिवार पनि मेरोविरुद्धमा छन्। उनीहरुबाट पनि मलाई लगातार धम्की आइरहेको छ।’

पुटिनमाथि आरोप लगाएकाले आफ्नो परिवार आफूसँग रुष्ट रहेको सापिरोले बताएकी छिन्। ‘मलाई एक व्यक्तिले लगातार फोनमा धम्की दिइरहेको छ र उनले आफूलाई मेरो पिता भएको बताइरहेका छन्। म आफ्नो पतिको सुरक्षाका लागि अत्यन्त चिन्तित छु’ –उनले बताइन्। सुरक्षा अधिकारीहरुले उक्त घटनालाई लिएर जाँच भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्