बहिनीलाई पशुवत यातना दिने प्रहरी खोरमा



नयाँ दिल्ली, (एजेन्सी)
भारतको राजधानी नयाँ दिल्लीमा दुई वर्षदेखि लगातार आफ्नी बहिनीलाई निर्मम यातना दिँदै आएको अभियोगमा एक व्यक्तिलाई गिरफ्तार गरिएको बुधबार प्रहरीले जनाएको छ।

महिलाका लागि दिल्ली आयोग (डीसीडब्ल्यू) का अधिकारीहरु र प्रहरीले अघिल्लो दिन नाटकीय ढंगले उनको घरमा गएर ती पीडित महिलाको सफल उद्धार गरेका थिए। नाम नखुलाइएकी ती महिला निकै भोकाएकी, हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुगेकी थिइन्। उनले मानिसहरुलाई समेत चिन्न छाडेको प्रहरीले जनाएको छ।

डीसीडब्ल्यूका प्रमुख स्वाती मालिवालले भनेकी छिन्– ‘५० वर्षीया उनी हेर्दा ९० वर्षकी जस्ती देखिन्छन्। हामीले घरको कौसीबाट उनलाई उद्धार गर्दा उनी मलमुत्रको आहालमा बसिरहेकी थिइन्। खान नदिइएकाले निकै कमजोर हुँदा उनीमा दिसा पिसाबको समेत होश नभइसकेको रहेछ।’
एकजना छिमेकीले अति भएपछि डीसीडब्ल्यूलाई यसबारे उजुरी गरेका थिए।

मालीवालले आफ्नो नेतृत्वमा घटनास्थलमा पुग्दा ती आरोपित व्यक्ति र उनकी पत्नीले आफूहरुलाई घरमा प्रवेश गर्न नदिएको बताएकी छिन्। उनले त्यसपछि प्रहरीको सहयोग लिँदा पनि तिनीहरुले घरभित्र छिर्न नदिएको बताएकी छिन्।

त्यसपछि प्रहरी अधिकारीहरु छिमेकीको घर हुँदै तिनीहरुको घरको कौसीमा चढेका थिए। उपप्रहरी आयुक्त रजनिश गुप्ताले ती व्यक्ति र उनकी पत्नीलाई तत्काल ैगिरफ्तार गरिएको बीबीसीलाई जानकारी दिएका छन्। प्रहरीले ती महिलालाई किन यसरी क्रुर यातना दिइएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्