रक्षामन्त्री मेटिसद्वारा पेन्टागन छाड्ने हल्ला अस्वीकार



वासिङ्टन, (एजेन्सी)
अमेरिकी रक्षामन्त्री जिम मेटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध खराब रहेकाले पेन्टागनमा उनको बसाइ केही दिनमात्र बाँकी रहेको हल्लालाई अस्वीकार गरेका छन्। चर्चित खोज पत्रकार बब उडवर्डको हालै प्रकाशित एक नयाँ किताबमा उल्लेख गरिएको ट्रम्प र मेटिसको सम्बन्धलाई चर्चामा ल्याइएको छ।

उडवर्डले अन्य दाबीसँगै मेटिसले ट्रम्पका फैसलामा प्रश्न उठाउने गरेको र राष्ट्रपतिको बुझाइ १० वा ११ वर्षका बच्चाको जस्तो भएको बताएको उल्लेख गरेको छ। पूर्वअमेरिकी अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले शनिबार यस विषयमा एक समाचार प्रकाशित गरेको थियो। उक्त खबरमा मेटिसको भविष्यमा संकटको बादल मन्डराएको उल्लेख गरिएको थियो। अखबारका अनुसार ट्रम्पले आफ्नो वरपर बफादार र हो मा हो गर्नेहरु मात्र चाहेका छन्।

मेटिसले बब उडवर्डसँग यस विषयमा कुराकानी नभएको बताउँदै आफूले ट्रम्पलाई पनि कहिल्यै बच्चाजस्तो नभनेको बताए। उनले भने– ‘म यी सबै कुरालाई गम्भीरतासँग लिँदिन। यो यस सहरमा हुने धेरैजसो हुने कुराजस्तै हुन्। कुनै पनि व्यक्ति एक हेडलाइनमा आउँछ?’

मेटिसले पद छाड्ने पनि आफ्नो कुनै मनसाय नभएको बताए। मेटिसले भने– ‘निश्चितरूपमा पद छाड्ने सोचिरहेको छैन। मलाई यहाँ (पेन्टागन) मा बस्न पनपर्छ। म यहींबाट सेवानिवृत्त हुने सोचिरहेको छु।’

उडवर्डले आफ्नो किताबमा राष्ट्रपति ट्रम्पले सिरियाका राष्ट्रपति बसर अल असदलाई मार्ने आदेश पनि दिएको दाबी गरेका थिए। यद्यपि ट्रम्प र ह्वाइट हाउसको तर्फबाट उडवर्डको दाबीको खन्डन गरिएको छ। ट्रम्पले यसअघि नै यसलाई चर्चामा आउन लेखिएको मनगढन्ते किताब भन्दै आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्