बलात्कार घटनाको बढ्दो शृङ्खला



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बित्न लाग्दा पनि वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन । यस्तो जघन्य घटनाका अपराधी लामो समयसम्म पनि पत्ता लाग्न नसक्दा प्रहरीको मात्र हैन सरकारको कार्यशैलीमै प्रश्न उब्जिरहेको छ । निर्मला हत्या प्रकरणमा देश नै आन्दोलित भैरहेको यस अवधिमा मुलुकभरि भएका बलात्कारको घटनाको तथ्यांक हेर्ने हो भने निकै डरलाग्दो तरिकाले बढिरहेको छ । निर्मला पन्तको हत्या प्रकरणपछि मात्र नेपालमा २ सय २५ भन्दा बढी बलात्कारका घटना घटेको प्रहरी तथ्यांक सार्वजनिक भैसकेको छ । राजधानीमै भएका कतिपय बलात्कारका घटना सार्वजनिक नभइरहेको अवस्थामा दूरदराजमा भएका कतिपय बलात्कारका घटना प्रहरी कार्यालयसम्म आइनपुग्ने अनुमान पनि लगाउन सकिन्छ ।

प्रहरीको तथ्यांकअनुसार ५२ दिनको अवधिमा राजधानीमा मात्र ४२ बलात्कारका घटना भएका छन् । देशैभर बलात्कारका घटना बढेको तथ्यांकप्रति प्रहरीसमेत आश्चर्यमा परेको बेला सरकार घटक दलका शीर्ष नेताहरूले सरकारलाई असफल बनाउन बलात्कार र हत्याका घटना बढिरहेको त होइन ? भनी दिएको अभिव्यक्तिले आमजनतामा बढ्दो बलात्कारका घटनाप्रति सरकार संवेदनशील नभएको अनुभूति भैरहेको छ । दिनानुदिन बढ्दो बलात्कारका घटना न्यूनीकरण गर्न सरकारले कुनै ठोस योजनाका साथ अघि बढेको पनि देखिँदैन । सात वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कारको सिकार भएका छन् । गृहमन्त्रीले बढ्दो बलात्कार तथा महिला हिंसाका विरुद्ध विशेष योजना सञ्चालन गरी घटना न्यूनीकरण गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिए पनि विशेष योजना सञ्चालन भएको छैन । साथै बलात्कारका घटना बढ्नुको कारणबारे विशेषज्ञ टोलीको अध्ययन अनुसन्धान पनि हुन सकेको छैन ।

बढ्दो बलात्कारको घटना न्यूनीकरणको लागि सरकार र प्रतिपक्ष दल मात्र हैन सबै राजनीतिक दल, सरकोकारवाला सबै निकायको समान प्रतिबद्धताका साथ विशेष योजना अघि बढाउनुपर्छ । यस्ता घटना न्यूनीकरणका लागि प्रदेश सरकार र स्थानीय सरकारले पनि प्राथमिकताका साथ योजना ल्याउनुपर्छ । गाउँ–गाउँसम्म सचेतना फैलाउनुपर्छ । अपराध भएमा अपराधी उम्कन नसक्ने भनी आमजनतालाई भरोसा दिन सक्नुपर्छ । त्यो भरोसा गफमा हैन, व्यवहारमा लागू हुनुपर्छ । अपराधीलाई जोगाउन गरिने मिलेमतोको खेललाई अन्त्य गर्नुपर्छ । साथै, बढ्दो बलात्कारका घटना न्यूनीकरणको दीर्घकालीन उपाय पत्ता लगाउन विशेषज्ञ टोलीले अध्ययन अनुसन्धान गरी आएको सुझाव कार्यान्वयन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्