विकिनीमा चोली



फेसन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले फ्रान्सको पेरिसमा अन्तर्राष्ट्रिय मोडलमार्फत आफ्ना डिजाइनका १२ पहिरन प्रदर्शन गरेकी छन्।

क्याटवक पेरिस रिभ्योलुसन नाम दिइएको फेसन शोमा पुनमले विभिन्न देशबाट आएका मोडलको सहयोगमा आफ्ना डिजाइन प्रदर्शन गरेकी हुन्। कार्यक्रम एसएम ग्लोबलले आयोजना गरेको थियो। पुनमले वेस्टन डिजाइनमा फ्युजन गराई तयार पारेको लालीगुराँसको रंग मिश्रित साडी विशेष आकर्षण बन्न पुगेको थियो।

उनले विकिनी पहिरनलाई चोलीसँग फ्युजन गराएकी थिइन्। बेलायतको लण्डन र अमेरिकाको न्युर्योकमा आफ्नो डिजाइनका पहिरनको प्रदर्शन गरिसकेकी पुनमले पेरिसको कार्यक्रम विशेष रहेको बताएकी छिन्। ‘फ्रान्सको सहभागिता विशेष रयो। यहाँको व्यस्त समय तालिकामा प्रत्येक आधा–आधा घण्टामा फेसन शो हुँदोरहेछ।

एकले अर्कोको फेसनमा ध्यान नदिँदा रहेछन्।पुनमले अनुभव सुनाइन्– ‘मेरो डिजाइनको पहिरन लगाएर मोडलले र्याम्प गर्दा पृष्ठभूमिमा नेपाली संगीत बजाइएको थियो। मोडलको हिँडाइ र संगीतका कारण दर्शक उत्साहित देखिएका थिए।

कार्यक्रम सञ्चालकले पटक–पटक नेपालको नाम उच्चारण गर्दा मन नै प्रफुल्ल भयो।’

पुनमका अनुसार कार्यक्रमका कोरियोग्राफरले नेपाली पहिरन मन पराएर लगाएका थिए। ‘पेरिसका कर्पोरेट तहका व्यक्तिहरू कार्यक्रममा हुनुहुन्थ्यो। नेपालको फ्युजन पहिरन लगाएर मोडल र्याम्पमा हिँड्दा वेलकम टु पेरिस भन्दै ताली बजाए’ पुनमले भनिन्– ‘मोडलहरूले पनि आफूहरूले पहिलोपटक यस किसिमको पहिरन लगाएको बताए।’ पुनमले नेपाललाई फेसनको देश भनेर चिनाउनका लागि पनि पेरिसको सो विशेष रहेको बताइन्। नेपालमा विभिन्न किसिमका फेब्रिक रहेकाले त्यसको अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्न सकिए नेपाली फेसनले अन्तर्राष्ट्रिय बजार पाउने उनलाई लाग्छ।

प्रतिक्रिया दिनुहोस्