३० प्रतिशतले बढ्दै छ बलात्कार



प्रशान्त वली, काठमाडौं
देशमा दिनदिनै बलात्कार र हत्याका घटना बढ्दै गइरहेको छ। यस्तो क्रम पछिल्लो समयमा ३० प्रतिशतका दरले बढ्दै गएको प्रहरीले जनाएको छ। प्रहरी तथ्यांकमा पछिल्लो सात वर्षयता वार्षिक ९ देखि १० प्रतिशतले यस्तो घटना बढेकोमा अहिले त्यसमा पनि बढोत्तरी भएको जनाइएको छ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार २०७४÷०७५ मा १ हजार ४ सय ८० वटा जबरजस्ती करणीका निवेदन दर्ता भएका छन्। तीमध्ये १ हजार ३ सय ६६ अभियुक्तलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। प्रवक्ता थापाले यस्ता घटना दिनप्रतिदिन बढ्दै गएको बताउँदै परिचित व्यक्तिबाटै यस्ता घटना हुने गरेको स्पष्ट पार्नुभयो।

महिला अधिकारकर्मीले भने बलात्कार र हत्याका घटनाका दोषीमाथि कारबाहीमा ढिलाइ हुने गरेको र पहुँचवालालाई जोगाउने गरिएको आरोप लगाएका छन्।केही बलात्कारका घटनामा प्रहरीको समेत संलग्नता रहेको र अनुसन्धानमा ध्यान नदिइएको उनीहरूले आरोप लगाएका छन्। अधिकारकर्मी सावित्रा चन्दले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कञ्चनपुरमा निर्मला हत्या प्रकरणमा प्रहरीको संलग्नता रहेको देखिन्छ। प्रहरीले बलात्कारीलाई जोगाउने होइन, कानुनी दायरामा ल्याउनुपर्छ।’

-चिरपरिचित नै बलात्कारी
-पाठ्यक्रममै यौनशिक्षा र दण्डसजाय राखिनुपर्ने

अर्का अधिकारकर्मी लक्ष्मी आचार्यले पीडक पक्ष खुलेआम हिँडिरहने र पीडित पक्ष लुकेर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विद्यालय तहकै पाठ्यक्रममा यौनशिक्षा र कानुन विषय समेटिनुपर्छ। बलात्कारका घटनापछि हुने सजायबारे उल्लेख गरिदिनुपर्छ।’ यता प्रहरीले भने जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि अनुसन्धानको दायरालाई फराकिलो बनाएको जनाएको छ।

यसैबीच राष्ट्रिय महिला आयोगले यस आर्थिक वर्षमा २ सय ७९ वटा बलात्कारका उजुरी परेको जनाएको छ। आयोगमा घरेलु हिंसासम्बन्धी २ सय ६१ र महिला हिंसासम्बन्धी १८ वटा उजुरी परेका छन्। यसमध्ये ७० वटा उजुरीहरू मिलापत्रका लागि सिफारिस गरिएको छ।

२०७४÷०७५ मा हिंसाका ७ सय २९ वटा मुद्दा दर्ता भएका हुन्। यसमध्ये ६ सय ६८ वटा घरेलु हिंसा र ६१ वटा महिला हिंसाका उजुरीहरू दर्ता भएको महिला आयोगको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्