सिसडोल ल्यान्डफिल साइट बन्द गर्ने चेतावनी, उधारो आश्वासन मान्दैनौं



ईश्वरराज ढकाल, काठमाडौं
दीर्घकालीन समाधान नखोजी फोहर फ्याँक्ने कामलाई मात्रै निरन्तरता दिएको भन्दै सिसडोल ल्यान्डफिल साइटका स्थानीयले राजधानीलगायत २२ वटै स्थानीय निकायको फोहोर ठप्प पार्ने चेतावनी दिएका छन्।

स्थानीयले सरकारलाई चर्को दबाब दिने र त्यसको सुनुवाइ नभए अनन्तकालसम्म फोहर फ्याँक्न नदिने बताएका छन्। सिसडोल ल्यान्डफिल साइटसँग जोडिएका धादिङ र नुवाकोटका १२ गाउँको ५ हजार रोपनी जग्गा सरकारले अधिग्रहण गरी सो क्षेत्रमा ल्यान्डफिल साइटको विस्तार गर्नुपर्ने माग स्थानीयले गरेका छन्। नुवाकोट र धादिङका प्रभावित क्षेत्रका स्थानीयको बुधबार भएको भेलाले उत्तम पाठक संयोजक र श्रीराम ढुंगाना सहसंयोजक रहेको ३५ सदस्यीय ल्यान्डफिल साइट समन्वय समिति गठन गरेको छ।

समितिले प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय विकास मन्त्री र काठमाडौं महानगरपालिकाका मेयरलगायत स्थानीय तहका प्रतिनिधिसँग भेट गरी ध्यानाकर्षण पत्र बुझाउने र आफ्ना माग सुनुवाइ नभए कुनै पनि हालतमा फोहर फ्याँक्न नदिने निर्णय गरेको छ।समितिका सहसंयोजक श्रीराम ढुंगानाले प्रधानमन्त्रीसँग भेट्ने पहल गर्ने र त्यसपछि स्थानीय र गृह मन्त्रीसँग भेट गरी ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको जानकारी दिनुभयो।

‘ध्यानकर्षणपत्रसँगै अल्टिमेटम दिन्छौं, माग पूरा गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाए फोहोर ठप्प हुने गरी आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो।

विगतमा भएका सहमति पूरा गर्ने विषयमा सरकारले कुनै चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो। यसअघि बनेका समितिले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, अघिल्ला प्रधानमन्त्री सुशील कोइरालालगायतका हरेक सरकारका प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र दिएको भए पनि अहिलेसम्म कुनै पनि सरकारले सुनुवाइ नगरेको भन्दै बुधबार गठन गरिएको समितिका पदाधिकारीले भने अब उधारो आश्वासन नमान्ने प्रण गरेका छन्।

सिसडोल ल्यान्डफिल साइटको फोहोरले नजिकका १२ वटा गाउँमा बस्नै नसक्ने अवस्था सिर्जना भएकाले समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको र आफ्ना माग सुनुवाइ नभए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने सहसंयोजक ढुंगानाले दाबी गर्नुभयो।

अति प्रभावित क्षेत्रका रूपमा रहेको सिउडेनी, कागती गाउँ, ढुंगाना गाउँ, पहिरे गाउँ, उप्रेती गाउँ, कार्की गाउँ, सिंखडा गाउँ, अकहरे गाँउ, देवाकोटा टोल, मकरा टोल, डल्लेटार, भण्डार थुम्कालगायतका गाउँ दुर्गन्धले बस्न नसक्ने अवस्थामा रहेको समितिको ठम्याइ छ।

‘लिचेड गन्हाएर बस्न नसक्ने अवस्था छ, वस्तुभाउ मरेको मर्यै छन्। बाली लगाउन सक्ने अवस्था छैन। कोल्पुखोलाको पानी प्रदूषित भएर दर्जनौं बिरामी परेका छन्। यस्तो अवस्थामा कसरी बस्ने?’ –समितिका सहसंयोजक ढुंगानाको प्रश्न थियो।

अति प्रभावित १२ गाउँमा करिब २० हजारको आवादी रहेको छ। समितिले आफ्नो मागको सुनुवाइ नभए सर्वोच्च अदालतमा मुद्दा दिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्