सरकारविरुद्ध चालक आन्दोलित, यातायात ठप्प, जनजीवन प्रभावित



विनोद सिंह विष्ट, बैतडी ।
सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कारण बैतडीमा पनि यातायात ठप्प भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरी ल्याएको कानुनी प्रावधानहरु संशोधन गर्नुपर्ने माग राख्दै चालकहरुले आन्दोलन थालेका हुन् । चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलित भएका छन् ।

सवारी साधन ठप्प हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । चालकहरुको आन्दोलनका कारण बैतडीबाट कुनैपनि सवारी साधनको चलानी नभएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग सुनशान देखिएको छ। चालकहरुको आन्दोलनले लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा नआएका महाकाली यातायात सतबाझ बुकिङ काउन्टरका इन्चार्ज कर्णबहादुर पाण्डेले बताए। यहाँका राजमार्गमा एम्बुलेन्स, प्रेस र मोटरसाइकलबाहेक अन्य सवारी साधन चल्न सकेका छैनन् ।

सरकारलाई दबाब दिनका लागि आफ्नो सवारी साधन घरमै राखेर आन्दोलन गरिएको र चालकलाई अपराधी बनाउने ऐन सच्याउन आफूले माग राखेको समितिले जनाएको छ । सबैले घरमै गाडी राखेर लागू ऐन संशोधनको माग राखेको नियतबस कसैले दुर्घटना गराउन चाहदैन तर दुर्घटना भएर कसैको मृत्यु भइहाले चालकले जन्मकैद सजाय भोग्नुपर्ने कस्तो कानुन हो ? चालक मान बहादुर टेरको भनाई छ ।

वर्तमान ऐनले सबै किसिमका सवारी साधनका चालकलाई जन्मकैदसम्मको फैसला हुने व्यवस्था गरेको उनको भनाई छ। तत्काल ऐन संशोधन नभए देशभरका सबै किसिमका सवारी साधनका चालक आन्दोलनमा उत्रने बताईएको छ । कानुन संसोधन नभए चालक अनुमतीपत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नुपर्ने अवस्था रहेको चालकहरुको भनाई छ ।
चालकहरुको बन्दका कारण यात्रुहरु भने मारमा परेका छन् । चाडपर्वको मुखमा गरिएको बन्दले निकै सास्ती भोग्नुपरेको सिगासका रामसिंह ऐरीले बताए ।

प्रतिक्रिया दिनुहोस्