चौरजहारी नगरपालिकाले पीडितलाई चारलाख बढी राहत बाँड्यो



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले विभिन्न घटनाका पीडित घरपरिवारलाई चारलाख २० हजार आर्थिक सहयोग गरेको छ । २०७५ वैशाख देखी भदौ अन्तिम सम्म नगरपालिकामा घटेका टघनाका ३९ पीडितलाई नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

पीडितलाई राहत स्वरुप ३ देखी २० हजार सम्मको आर्थिक सहयोग गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप सुनारले बताउनुभयो । ‘पाँच महिनाको अवधिमा नगरपालिका भित्र विभिन्न प्रकृतिका घटनाहरु घटे, नगरपालिकाले १४ वटै वडाका केही घटना पीडितलाई थोरै भएपनि आर्थिक सहयोग गरेको छ,’ उहाँले भन्नुभयो । नगरपालिकाले वर्षाका कारण घर भत्किएका, आर्थिक अवस्था कमजोर भएका, गाडी दुर्घटनामा परेका, पशु चौपाय मेरका लगायतका पीडितलाई आर्थिक सहयोग गरेको हो ।

तर पूर्ण घर भत्कीएका, आंशिक घर क्षति भएका, आगजनीबाट क्षति भएका पीडितलाई भने आर्थिक सहयोग गर्न नसकिएको बताईएको छ । यसका लागि जिल्ला समन्वय समिति, प्रशासन, प्रदेश र केन्द्र सरकार संग आर्थिक सहायताका लागि माग गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार विभिन्न निकायको सहयोग प्राप्त भएको खण्डमा नगरपालिकाका सबै पीडितले आर्थिक सहयोग पाउने भएका छन् । यसपटकको अविरल वर्षाका कारण चौरजहारी नगरपालिकामा चार करोड ६९ लाख ६३ हजार चार सय बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्