कालीगण्डकीको कटान बगरफाँट बजार संकटमा



पर्वत ।
कालीगण्डकी नदीले बर्षायाममा कटान गरेपछि पर्वतको जलजला गाउँपालिका वडा नं ३ बगरफाँट बजार संकटमा परेको छ ।
गएको भदौ २६ गते आएको बाढीले वारीबेनीबाट बगरफाँट जोड्ने सडक बगाएको छ भने बगरफाँट संरक्षणका लागि लगाइएको सयौ मिटर तारजाली बगाउँदा बजार संकटमा परेको हो । कालीगण्डकीको कटानले संकटमा परेको बगरफाँटको स्थलगत निरीक्षणमा पुगेका पर्वतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पदम गिरी संग स्थानियले तत्काल बस्ती संरक्षणको प्रयास थाल्न अनुरोध गरे ।

कालीगण्डकीमा म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि पक्की तटबन्ध बनाइएको छ तर वारी पर्वत तर्फको भागमा भने तारजाली पनि पर्याप्त मात्रामा पुगेको छैन । अर्को किनारमा पक्की तटबन्ध भएकाले पर्वत तर्फ नै हरेक बर्ष नदीको बहाब फर्कने भएकाले कटान तिब्र भएको स्थानियबासी बताउँछन । गतभदौ २६ गते कालीगण्डकी नदीमा आएको बाढीले बगरफाँटवस्तीलाई राजमार्गसंग जोड्ने सडक भत्काईदिएको छ ।

सवारी चल्न नसक्ने गरी सडक भत्किए पछि वस्तीमा सवारी आगमन बन्द भएको छ । उता, बाढीका कारण स्थानीय विद्यालय समेत जोखिममा परेको जलजला वडा नं ३ का अध्यक्ष देवेन्द्र भण्डारीले बताए । ‘बर्षा लागेपछि कहिले घर बगाउँछ भनेर त्रासमा बस्नुपर्छ’ उनले भने ‘हरेक बर्षा याममा यस्तो त्रास लिएर कसरी बस्न सकिन्छ ।’

कालीगण्डकीमा आएको बाढीका कारण भत्किएको सडक र कटानमा परेको बजार क्षेत्रको स्थलगत अनुगमन पछि साँसद पदम गिरीले खोलाको कटान र त्यसको रोकथामका लागि प्रयास भैरहेको बताउँदै बस्ती संरक्षणका लागि संघ र प्रदेशबाट बजेटको ब्यबस्था गरिने आश्वासन दिएका छन । गत बर्ष १ करोड भन्दा बढी रकम उक्त बस्ती संरक्षण गर्न कालीगण्डकी नदीमा तटबन्ध बनाउने क्रममा खर्च भएको थियो ।

यसरी लगाइएको तारजाली यसपटकको बर्षामा बाढीले बगाएको छ । नदीले कटान गर्न थालेपछि बगर फाँटका सयौ घर जोखिममा परेका छन । वस्ती संरक्षण गर्न नदीनियन्त्रणकालागिचालु आर्थिक बर्षमा केन्द्रिय सरकारबाट ५० लाख रकम विनियोजन भएको बताउँदै साँसद गिरीले आगामी बर्षमा पनि उचित ढङगले वस्ती संरक्षणमा आफूले प्रयास गर्ने प्रतिबद्धता दो¥याए ।

प्रतिक्रिया दिनुहोस्