सुविधा थप्दै विमानस्थल, नेपालगञ्ज–दिल्ली सिधा उडानको तयारी



नेपाल समाचारपत्र, बाँके ।

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ ।

नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, वेटिङ रुम, व्यवस्थित क्यान्टिनको निर्माणको प्रक्रिया अघि बढाइएको हो । इन्टरनेशनल र डोमेस्टिक टर्मिनल, ठूला जहाजका लागि पश्चिममा तीन सय र पूर्वतिर दुई सय मिटर रनवे बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले बताए ।

विमानस्थल स्तरोन्नतिका लागि ड्रोइङ, डिजाइन र कष्ट बनाउने काम भइरहेको छ । दुई महिनामा यो काम सकिएपछि टेण्डर प्रक्रिया अघि बढ्ने निर्देशक ठाकुरले बताए । ‘अहिले एक करोड छुट्याइएको छ । यत्तिले त नर्मिनल बन्दैन, निर्देशक ठाकुरले भने ।

नेपालगञ्ज विमानस्थल परिसरमा नेपाल वायुसेवा निगमको दुई वटा भवन छन् । त्यसलाई हटाउनै पर्ने कार्यालयले जनाएको छ । त्यस्तै, आर्मीले सञ्चालन गर्दै आएको क्यान्टिन असोज १ गतेदेखि खाली गराइएको छ । त्यहाँ वेटिङ रुम र व्यवस्थित क्यान्टिन बनाउने ठाकुरले जानकारी दिए ।

नेपालगञ्ज विमानस्थलको रनवे सानो छ । ठूला जहाजलाई ठाउँ पुग्दैन । एक सय ५० सिटे जहाजलाई मध्यनजर गरेर कार्यालयले पाँच सय मिटर रनवे बनाउन थालेको छ । विमानस्थलमा पार्किङको पनि उस्तै समस्या रहेको छ । अहिले दुई वटामात्रै पार्किङ छ । यत्तिले नपुगेपछि पाँच वटा थप पार्किङस्थल बनाउन थालिएको छ ।

बुद्ध एयरले पुस÷माघदेखि नै दिल्ली उडान शुरु गर्ने बताएपनि विमानस्थललाई ‘सुविधायुक्त’ बनाउन समय लाग्ने देखिएको छ । निर्देशक ठाकुरले अर्को दशैसम्ममा दिल्ली उडान हुन सक्ने बताए । उनका अनुसार, दिल्ली एयरपोर्टले नेपालगञ्जबाट जाने जहाजका लागि स्लट (समय) दिइसकेको छैन । दिउँसोको चापले गर्दा राती उडान भर्नु पर्ने भनिएको पनि ठोस निर्णय भइसकेको छैन ।

नेपालगञ्ज विमानस्थलको एक सय ३८ विगाह जमिन छ । एक सय ५० मिटर लम्बाई र ३० मिटर चौडाईको रनवे रहेको छ । ‘हामीसँग जग्गा पर्याप्त छ । २० वर्षको लागि सोचेर योजनाहरु बनाउन आवश्यक छ, निर्देशन ठाकुरले भने ।

नेपालगञ्ज–दिल्ली उडानका लागि भारतीय राजदुताबासले पनि चासो दिएको छ । भारतबाट वर्षेनी ठूलो संख्यामा मानसरोबर जान आउने पर्यटकले नेपालगञ्ज–दिल्ली उडान नहुँदा दुःख व्यहोर्नु परेको छ । तीन दिनअघि नेपालगञ्जमा आएका भारतीय राजदुत मन्जिव पुरीले यो विषयमा यहाँका अधिकारीहरुसँग लामै छलफल गरेका थिए । राजदुत पुरीले भारतीय पर्यटकले मानसरोबर तीर्थ जादा किन सास्ती पाइरहेका छन् भनेर यहाँका नागरिक उड्डयन कार्यालयका अधिकारीहरुलाई प्रश्न गरेका थिए । नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका निर्देशक ठाकुरले मौसमका कारणले मात्रै पर्यटकले सास्ती व्यहोर्नु परेको रिपोटिङ गरेका थिए ।

मानसरोबर जाने भारतीय पर्यटकको चाप बढ्दो छ । नेपालगञ्जबाट एक दिन हुम्लाका लागि २८ वटासम्म उडान भएका थिए । दिल्लीबाट काठमाडौं र त्यहाँबाट नेपालगञ्ज हुँदै हुम्ला जाने भारतीय पर्यटकलाई नेपालगञ्ज–दिल्ली सिधा उडान हुने बित्तिकै समय र पैसाको बचत हुन्छ । यहाँको पर्यटकीय विकासमा पनि त्यसले ठूलो टेवा पु¥याउँछ ।

नेपालगञ्जदेखि मंगलबार २२ वटा उडान थिए । यहाँबाट काठमाडौं दैनिक ७÷८ वटा उडान हुन्छन् । दिल्ली उडान थाल्दा विमानस्थलको स्तरोन्नति र सुरक्षा व्यवस्था चुस्त बनाउन जरुरी रहेको छ । दिल्ली उडान हुनुअघि भारतबाट सुरक्षा टीम आएर हेरेर मात्रै अनुमति दिने निर्देशक ठाकुर बताउँछन् ।

यस्तो हुँदैछ काम

नेपालगञ्ज विमानस्थलमा अब भिआइपीलाई छुट्टाछुट्टै ठाउँबाट रनवेसम्म पु¥याउने र ल्याउने तयारी भएको छ ।

जाने र आउने बाटो फरक फरक बनाइदैछ । कतिपय भिआइपीका समर्थक, कार्यकर्ताहरु धेरै आउने भएकाले त्यस्तो व्यवस्था गर्न थालिएको हो । ‘आउने र जाने भिआइपीलाई एकै ठाउँमा राख्दा अव्यवस्थित भयो, अब त्यस्तो हुँदैन, हामीले छुट्टाछुट्टै व्यवस्था गर्दैछौ, नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले भने, आउने र जाने भिआइपीलाई छुट्टाछुट्टै कोठाको व्यवस्था गर्दैछौ ।’

अहिलेसम्म व्यापारीहरु आफ्नो सामान बोकेर रनवेसम्म पुगिरहेका थिए । त्यसलाई पनि कन्ट्रोल गरिएको छ । ‘पोकापुन्तरो, झोला बोकेर व्यापारीहरु जहाजसम्मै पुग्ने गरेका थिए, त्यसलाई मैले हटाएको छु, आफ्नो कार्यकक्षमा झुड्याएको ज्याकेट देखाउदै निर्देशक ठाकुरले भने, यो लगाएर मात्रै रनवेसम्म जान पाउने व्यवस्था मिलाएको छु । यसो गर्दा व्यापारीहरु पोका बोकेर त्यहाँसम्म जान सक्दैनन् ।’

नेपालगञ्ज विमानस्थलमा एम्बुलेन्सको व्यवस्था गरिदैछ । निर्देशक ठाकुरले कुनै अप्रिय घटना भइहाले बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स आवश्यक रहेको बताए । ‘नेपालगञ्जबाट एम्बुलेन्स बोलाउदा बोलाउदै धेरै समय खेर जान्छ, ठाकुरले भने, आफ्नै भयो भने त बिरामीलाई तत्कालै अस्पताल पु¥याउन सकिन्छ ।’

परिस्थितिले सधै साथ नदिन सक्छ । रनवेमा विमान केही भइहालेमा त्यसलाई तान्न एउटा ट्याक्टर छैन । त्यसको पनि व्यवस्थापन गरिदैछ । अझ सानो कुराको अभाव विमानस्थलमा रहेको छ । रातीमा रनवे आसपासमा बत्ती छैन । राती केही गर्नुपर्ने भएमा बत्तीको सुविधा नपाएकाले यसको पनि लेखापढी भएको ठाकुरले बताए ।

विमानस्थल परिसरमा सुर्ती, चरोट, गुट्खा निषेध गर्ने तयारी भएको छ । यी चिज खाएर जथाभावी फोहोर गरेकाले त्यसलाई नियन्त्रण गर्न थालेको निर्देशक ठाकुरले बताए ।

नेपालगञ्ज विमानस्थल नेपालगञ्जको २० नम्बर वडामा पर्छ । यो नेपालगञ्ज बजारदेखि चार किलोमिटर टाढा रहेको छ । विमानस्थलको स्तरोन्नति भएर घरेलुसँगै अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन राम्रो हुँदा वडावासीलाई धेरै नै फाइदा हुने वडाध्यक्ष कृष्ण कार्कीले बताए । ‘यो त हाम्रो वडाको सान हो, विमानस्थलको व्यवस्थापनले हामीलाई धेरै फाइदा गर्छ, वडाध्यक्ष कार्कीले भने, वडाको आम्दानीमा ठूलो टेवा पुर्याउँछ ।’

प्रतिक्रिया दिनुहोस्