यु १६ टोलीको लक्ष्य छनोट हुने



काठमाडौं, (नेस)
नेपाली टिमकी मुख्य प्रशिक्षक गंगा गुरुङले आगामी वर्ष थाइल्यान्डमा हुने ‘एएफसी’ यू–१६ महिला फुटबल च्याम्पियनसिपको लागि छनोट हुने लक्ष्य लिएको बताएकी छन् ।

मंगलवार ग्रान्ड होटलमा भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक गुरुङले सो तयारी राम्रो भएकोले छनोट हुने लक्ष्य लिएको जानकारी गराएकी हुृन् । उनले साफ यू–१६ खेलेर धेरै अनुभव समेत हासिल भएको बताइन् ।

उनले भनिन्–‘हाम्रो टिमको तयारी निक्कै राम्रो छ, खेलाडीहरु पनि सबै फिट छन् , आशा गरौ हाम्रो खेलाडीहरुले राम्रो खेल्नेछन् । फिलिपिन्सविरुद्धको पहिलो खेल हाम्रो लागि निक्कै महत्वपूर्ण छ । दोस्रो चरणमा पुग्नका लागि पनि यो खेल जित्नै पर्ने हुन्छ । हामीले जित्ने रणनीतिका साथ खेल्नेछौँ ।’

नेपालले तीनवटै टिमसँग पहिलो पटक खेल्न लागेकोले विपक्षी टिमबारे भने थाहा नभएको गुरुङले स्विकार गरेकी छिन् । उनले बताइन्—समूहका तीनै टोली हाम्रा लागि नौलो हुन् । उनीहरुको खेलबारे हामीलाई त्यति थाहा भएन । ता पनि हामी जितकै लागि खेल्नेछौ ।

नेपाली टिमकी कप्तान प्रिती राईले पनि सबै खेलाडीहरु मानसिक रुपमा तयार रहेको जानकारी दिईन् । फुटबलको छनोट खेलको लागि सहभागी चार वटै टोली तयार भएको बताइएको छ । सन् २०१९ मा थाइल्याण्डमा हुने ‘एएफसी’ यू–१६ महिला प्रतियोगिताको पहिलो चरणको छनोट अन्तर्गत समूह ‘इ’ का खेलहरु हल्चोकस्थित एपीएफ मैदानमा हुँदैछ ।

छनोटमा घरेलु टोली नेपालसहित म्यानमार, फिलिपिन्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । आज नेपालले फिलिपिन्ससँग खेल्नेछ ।
छनोटमा ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाउन लागेको हो । ६ वटै समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । त्यस्तै ६ समूहका उपविजेता मध्ये उत्कृष्ट दुई टोलीले समेत दोस्रो चरणको यात्रा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्