पोखराबाट पञ्चासे केबलकार निर्माण हुने



नेपाल समाचारपत्र, पर्वत
पर्यटकीय एवम् धामिर्कस्थल पञ्चासेसम्म अब केबलकारमा निर्माण हुने भएको छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलको रुपमा रहेको पञ्चासेमा पुग्नका लागि पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबुलकार निर्माण हुने भएको हो ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रवद्र्धन गर्न केवुलकार निर्माण हुने भएको छ । पर्यटकीयस्थल पञ्चाँसे पुग्नका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबलकार निर्माणको प्रक्रिया अघि बढाएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केवलकारको दूरी ८ दशमलव ५ किलोमिटर रहेको छ । केबलकार निर्माणका लागि सर्वेक्षणको कार्य भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीले दिएको जानकारी अनुसार पञ्चासेसम्म पुग्ने केबलकारमा ८० वटा पोल रहने छन् । साथै यसको निर्माणका लागि करिब ७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको र ४ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । पञ्चासेबाट ८ वटा हिमश्रृङ्गखला देख्न सकिन्छ । पञ्चासेमा रहेको प्राकृतिक ताल समेत पर्यटकको अर्को आकर्षण हो । पञ्चासेमा हरेक बालाचतुर्दशीमा ठँलो मेला लाग्दै आएको छ ।

पञ्चासे पुग्ने पर्यटकका लागि पोखराबाट पामे हुँदै र पर्वतको कुस्माबाट आर्थर हुँदै भञ्ज्याङसम्म कच्ची सडकको सुविधा छ । पञ्चासेमा आउने पर्यटकलाई आधार बनाएर पोखरा महानगरको भदौरे, सिदाने, कुबिडाँडालगायतका स्थानमा होमस्टे सञ्चालनमा छन् भने पर्वतको कुस्मा नगरपालिका – १४ आर्थर डाँडाखर्क र मोदीगाउँपालिका वडा नं ८ चित्रेमा पनि होमस्टे सञ्चालनमा छन् ।

केबलकार सञ्चालनसँगै होमस्टे सञ्चालित गाउँको पर्यटन प्रवद्र्धन लागि विभिन्न आयोजना पनि रहेको शर्माले बताउनुभयो । केबलकार आयोजनाले पञ्चासे लेकभन्दा तल लिजमा जग्गा लिएर वाटर फन्ट, स्थानीय हस्तकला बिक्री केन्द्र, हेरिटेज प्लाजा, रिसोर्ट, होमस्टे, टीनएजर्सका लागि प्रेम पार्क, फुट ट्र्याक, एकैचोटी २ हजारले ड्रिक्स् गर्न मिल्ने क्षमताको अल्कोहल जोन, पँञ्चासे मन्दिरको जिर्णोद्धार लगायतका योजना समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्