पुरस्कार र तिरस्कार



पहिलपहिले आफैँ पुरस्कृत भएको स्वयम्लाई थाहा हुन्थेन । पुरस्कारको ओज हुन्थ्यो । गहिरै अध्ययन–अनुसन्धान गरेर दिइने हुनाले पुरस्कार पाउनेको नाक टिप्न बिर्सेको लौका जत्रै फुल्थ्यो । सबैको वाहीवाही पाउँथ्यो उसले । धरहरा पनि त्यसरी पुरस्कृत हुनेलाई मनदेखि नै सलाम गर्न मन पराउँथ्यो ।

तर जमना फेरिएर होला, हुन त यो कलियुग हो रे ! कलियुगमा यस्तै हुन्छ रे ! अहिले त पुरस्कार दिने र लिनेबीच पहिले नै लिने–दिने (लेनदेन) हुनुपर्दाेरहेछ । पहिले पुरस्कार दिँदा त्याग, तपस्या, साधना, बलिदानलाई मापनको आधार बनाइन्थ्यो, अहिले त चाकडी, चुप्लुसी, चुक्लीलाई बनाइँदोरहेछ । पार्टी, संगठन, आफ्नो मान्छे हेरिदोँरहेछ । आफूअनुकूलको मान्छे हो कि होइन भनेर जोखिदोँरहेछ । धरहराले सुनेको हो, देखेको होइन, समाजमा पुरस्कृत भएको देखिन कतिपय त आफैँले बजेटको व्यवस्था गरेर पुरस्कृत भएको नाटक गर्छन् रे ! अझ खुवाउन पियाउन सके झन् राम्रो ।

अर्काेतिर पुरस्कार पनि अहिले त गतिलो व्यापार भइसकेछ । कुनै पुरस्कार स्थापना गरेर चर्चित मान्छेलाई पुरस्कृत गर्दा व्यापार–व्यवसाय चौगुना बढ्छ रे । कसलाई के भन्ने खै पुरस्कार त यस्तो पो भइसकेछ । त्यसैले धरहरालाई पुरस्कारको कुनै मोह छैन, नौटङ्की गरेर लिएको पुरस्कारभन्दा स्वाभिमानपूर्वक पाएको तिरस्कार नै जाति ।

प्रतिक्रिया दिनुहोस्