कानुनको विरोध गर्दै सवारीचालक हड्तालमा



कृष्णउदास खनाल, वीरगन्ज
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलवारदेखी शुरु गरेको आन्दोलनका कारण वीरगन्ज भन्सारबाट आयात निर्यात हुने सवारी साधन ठप्प भएको छ ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा सवारी चालक आन्दोलनमा उत्रिएपछि सवारी साधन संचालनमा समस्या देखिएको हो । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसंग आग्रह समेत गरेको छ ।

वर्तमान ऐन संशोधन नभएसम्म संघर्ष जारी रहने भन्दै समितिका सहसंयोजक अर्जुन अधिकारीले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको कानुन संसोधन नभए चालक अनुमतीपत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए ।समितिका सहसंयोजक अधिकारीले आन्दोलनका क्रममा गाडी चलाउनेहरुलाई कुनै अवरोध नगरिने भन्दै आँफूहरुको आन्दोलन आफ्नै लागि भएकाले सोंचेर कदम चाल्न चालकहरुलाई आग्रह गरे ।

आन्दोलनका नाममा सडकमा उत्रने तथा जर्वजस्ती सवारी बन्द गर्न लगाउने आफूहरुको कार्यक्रम नरहेको पनि अधिकारीले स्पष्ट पारे ।मंगलबारे सिमरामा भेला भएका सयौं सवारी चालकहरुले सरकारले कानुन संसोधनको माग पुरा नगरेसम्म आँफूहरु गाडीको स्टेरिङमा नबस्ने घोषणा गर्दै सरकारको विरोध गरेका थिए ।

सवारी चालकहरुले सवारी थन्काएर आन्दोलन शुरु गरेपछि मंगलबार विहानैबाट बारा, पर्सा, रौतहटलगायतका स्थानमा सार्वजनिक सवारी चलेका छैनन् ।सडकमा एम्बुलेन्स तथा स्कुल बस र केही साना सवारी मात्र चलेका छन् ।

प्रतिक्रिया दिनुहोस्