दशैँको मुखमा नक्कली नोटदेखि सावधान !




केही समयपहिले गोरखामा नक्कली नोट फेला परेको थियो । नेपालमा नेपाली नक्कली नोटदेखि विदेशीसम्ममा नक्कली फेला पर्ने गरेका उदाहरण प्रशस्त छन् । नेपाल–भारतबीचको खुला सीमा र दशकौंदेखि दुई देशका नागरिकबीच कायम सम्बन्ध र कारोबारजस्ता कारणले भारु नोटमा नक्कली पर्ने र नेपालमा सजिलै यस्ता भारुको कारोबार हुन सक्ने देखिन्छ ।

पछिल्लो समयमा देशमा पर्यटकहरूको बढ्दो संख्या, वैदेशिक आप्रवासन र बढ्दो बाह्य व्यापारलगायतका कारणहरूले नेपालीहरूसँग विदेशी मुद्राको नगद सञ्चिती बढ्दै गएको विभिन्न खरबहरु बाहिर आइरहेका हुन्छन् । नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन–२०१४, विदेशी विनिमय नियमित गर्ने ऐन–२०१९, नेपाल राष्ट्र बैंक ऐन– २०५८ र बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐन–२०७३ ले नेपाली मुद्राबाहेकको अन्य मुद्राको कारोबार गर्न नहुने प्रष्ट व्यवस्था गरेको भए पनि यस्तो भएको छैन ।

नेपाली नोट मुद्राबाहेकका अन्य मुद्रा बैंक–वित्तीय संस्थासहित राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सटही काउन्टरहरूले मात्र तोकिएको कानुनी व्यवस्थाभित्र रहेर सटही र अन्य कारोबार गर्न पाउँछन् । यो कुरा नेपालमा कारोबारका लागि खुला गरिएका सबै मुद्राको हकमा लागू हुन्छ, चाहे त्यो अमेरिकी डलर होस् वा भारु वा चिनियाँ युआन । नेपाल–भारतबीचको खुला सीमा र दशकौंदेखि दुई देशका नागरिकबीच कायम सम्बन्ध र कारोबारजस्ता कारणले भारुका हकमा भने केही खुकुलो प्रावधान लागू छ । अहिले नेपाल–भारतबीच आवतजावत गर्ने नेपालीहरूले एकपटकमा २५ हजार भारुसम्म बोकेर ल्याउन, लैजान पाउँछन् ।

सन् १९५० को सन्धिपछि नेपाल र भारत दुवैतिर ठूलो संख्यामा एक–अर्काका नागरिक कार्यरत रहेको, नेपालको ठूलो व्यापारिक निर्भरता भारतसँगै कायम रहेको, अध्यागमनमा अभिलेखित गरेर वा नगरी वार्षिक १० लाखभन्दा बढी संख्यामा भारतीय पर्यटक नेपाल आउने गरेको र यहाँबाट पनि उत्तिकै संख्यामा नेपालीहरू तीर्थयात्रा, उपचार र शिक्षा आर्जनका लागि भारत जाने गरेको सन्दर्भलाई ध्यान दिएर यो व्यवस्था गरिएको हो ।

भारतसँगको व्यापारको भुक्तानी तथा अन्य प्रयोजनका लागि आवश्यक पर्ने भारुको आवश्यकता पूरा गर्नैका लागि नेपाल राष्ट्र बैंकले हरेक वर्ष मूल्यवान् अमेरिकी डलर बिक्री गरी भारु किन्दै आएको छ । तर समस्या भारुबाटै पर्ने देखिएको छ । भारतमा रोजगारीका लागि जानेहरुले पनि भारु नोट ल्याउने भएकोले यसका लागि व्यवस्थापन गर्ने नयाँ व्यवस्था हुनुपर्छ । यस्तो भयो भने मात्र नक्कली भारुको कारोबार बन्द हुनसक्छ ।
–सुधीर शाक्य, कुपण्डोल ।

प्रतिक्रिया दिनुहोस्