कागेश्वरीको विकास गर्न गुरुयोजना



-मधुसूदन रायमाझी
हरियाली वातावरण कलकल बहने झरनाले कसको मन नलोभ्याउला र ? राजधानी काठमाडौमा व्याप्त रहेको धुँलो र धुवाँले निस्सास लाग्दो बन्दै गएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिर परिसर पुग्ने हो भने निकै आन्नद लिन सकिन्छ ।

कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या बढदै गएको छ ।

तर पर्याप्त भौतिक पूर्वाधार नहुदा पनि पर्यटकहरुले आवश्यक सुविधा पाउनबाट बञ्चित हुँदै आएको छ । यस विषयलाई ध्यान दिएर कागेश्वरी महादेव मन्दिरको वृहत्तर विकास गर्नको लागि कागेश्वरी मनोहरा नगरपालिकाले गुरु योजना बनाएर नै काम अगाडि बढाउने भएको छ ।

पूर्वाधारको विकास गरेर प्राकृतिक, धार्मिक एवं पर्यटकीय क्षेत्र कागेश्वरीलाई विकास गर्ने योजना अगाडि सारिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा धार्मिक पर्यटकी क्षेत्रेका गन्तव्यको रुपमा परिचितत छ । प्रत्येक बर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने कागेअष्टमी मेला लाग्ने कागेश्वरीको विकास गर्नको लागि नगरपालिका जुटेको छ । राजधानी काठमाडौंको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा प्रत्येक बर्ष लाग्ने मेलामा करिब एक लाख मानिसहरु आउने गरेको कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीय श्याम लामा बताउनुहुन्छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको छ । सत्ययुगमा सेतीदेवीको अङ्ग पतन भएर एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ ।

कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी महादेवको नामबाट नै नगरपालिकाको नाम रहेको बताउदै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका विशेष पहल गर्ने बताउनुभयो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थान प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण रहेको छ । प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न पर्यटकहरु आउने गरेका छन् ।

धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले दुई किलो अष्टधातुको कागको मूर्ति स्थापना गरिएको छ । नगरपालिकाले कागेश्वरी–सुन्दरीमाई–शिवपुरी–गोकर्णेश्वर–नवतनधाम र पशुपतिनाथलाई जोडेर अन्तराष्ट्रिय पशुपति परिपथ निर्माण गर्न विषयमा गृहकार्य गरिरहेको नगरप्रमुख थापाले बताउनुभयो ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ । कागेश्वरी महादेवलाई धार्मिक सहिष्णुताको प्रतिकको रुपमा लिने गरिएको बताउदै कागेश्वरी मनोहरा नगरपालिका–१ गगलफेदीका वडा सचिव विनय सिम्खडा बताउनुहुन्छ ।

‘पर्यटकीय क्षेत्रको रुपमा विकास गछौं’


मुकुन्द प्रसाद गजुरेल
वडा अध्यक्ष, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी

कागेश्वरी महादेवको विकास गर्ने विषयमा के योजना बनाउनुभएको छ ?
–कुनै पनि काम गर्नको लागि योजना छ । योजनाले नै सही गन्तव्यमा पु¥याउछ । यस मन्दिरको पुरातात्विक महत्व छ । मन्दिरको डिजाइन कस्तो गर्ने ? शिलाहरुको कसरी संरक्षण गर्ने भन्ने पनि हामी सोचिरहेका छौँ । सबै बिषयलाई समेटेर गुरु योजना निर्माणमा जुटेका छौं । एकै पटक सबै काम सम्पन्न गर्न गाह्रो छ । गुरुयोजना बनाएपछि योजनाबद्ध रुपमा प्राथमिकताको आधारमा काम गर्दै लैजान्छौ ।

पर्यटकको थप प्रबद्र्धन गर्नको लागि के सोच्नु भएको छ ?
यस मन्दिरको मुख्य गरी तीन वटा महत्व रहेको छ । पहिलो धार्मिक, दोस्रो प्राकृतिक र पर्यटन । यहाँबाट वानेश्वर २५ किलोमिटरको दुरीमा रहेको छ । यहाँ बन्जिजम्को पनि काम गरेका छौँ ।

बन्जिजम्पलाईको विकास गर्ने काम पनि अगाडि बढाएका छौं । यो विषयलाई पनि डिपिआरमा समावेश गरेर लैजान्छौ । यस क्षेत्रबाट काठमाडौं उपत्यकाको काठमाडौं ललितपुर र भक्तपुर तीन वटै जिल्लाको दृष्यावलोकन गर्न सकिन्छ ।

तपाईकै कार्यकालयमा यो योजना कार्यान्वय हुन्छ ?
हाम्रो कार्यकालमा नै गुरु योजना कार्यान्वयनको काम अगाडि बढछ । भौतिक रुपमा सबै योजना त सम्भव नहोला । दिर्घकालीन महत्व राख्ने गुरुयोजना कार्यान्वयन सुरु हुनु नै सकारात्मक पक्ष हो । कागेश्वरीलाई कस्तो बनाउने भन्ने स्वरुप सहितको योजना चाही कार्यान्वयन हुन्छ ।

स्थानीयलाई कसरी समावेश गरेर लैजाने योजना बनाउनु छ ?
–यस क्षेत्रको विकास गर्नको लागि संघीय सरकारले पनि लगानी गर्नुपर्छ । ऐतिहासिक पुरात्व बोकेको हुनाले पनि पुरातत्व विभागको पनि लगानी गर्नुपर्छ । पर्यटकीय क्षेत्र बनाउनको लागि पर्यटन मन्त्रालयको लगानी जरुरी छ । अहिले प्रदेश सरकारले कागेश्वरी धामको विकास गर्न बजेट दिएको छ ।

नगरपालिकाले पनि गुरु योजना बनाएर नै अगाडि जाने योजनामा छ । यस कार्यमा स्थानीय जनताको पनि राम्रो साथ र सहयोग गरेको छ । डिपिआरको योजना अनुसार जब टेन्डरबाट सुरु हुन्छ ।

केन्द्रीय सरकारलाई के आग्रह गर्नु चाहनुहुन्छ ?
–पर्यटन क्षेत्रको विकासको लागि हामीले गुरुयोजना बनाएर नै काम गर्ने भएपछि संघीय सरकारले यस क्षेत्रलार्य पर्यटकीय क्षेत्र घोषण गरिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । त्यसको लागि हामीले गर्नुपर्ने काम गर्छ । गुरु योजना निर्माणसँगै पर्यटकीय क्षेत्र घोषणाको काम पनि एक साथ अगाडि बढाउन सकिन्छ । त्यसको लागि हामी पहल गछौं ।

प्रतिक्रिया दिनुहोस्