निर्मला हत्या प्रकरणमा सेनाका व्यक्तिको संलग्नता !



काठमाडौं, (नेस)
कञ्चनपुर भीमदत्तनगरपालिकाकी बालीका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा नेपाली सेनाका व्यक्तिको संलग्नता रहेको आशंका गरिएको छ । घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले यस्तो आशंका गरेको हो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेकाले सेनाबाटै घटना भएको हुनसक्ने कतिपय सूचना प्राप्त भएको छ । तत्कालीन एसपी डिल्लीराज विष्ट भएकै बेला गत साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो ।

प्रहरीले शंकास्पद विभिन्न व्यक्तिहरुको कल डिटेल हेरिरहेको बताइएको छ । यसैबीच हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ ।

घटनामा प्रहरी अधिकारीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको डीआईजी धिरु बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित १९ जनाको मोबाइल जफत गरेको हो । टोलीले प्रहरी प्रधानकार्यालयमै बोलाएर तत्कालीन एसपी विष्ट र कञ्चनपुर प्रहरीका १६ जना र सिआईबीका डिएसपी अंगुर जिसीसहित ३ जनाको मोबाइल तथा सिमकार्ड जफत गरेको हो ।

कञ्चनपुरबाट मुद्दा शाखामा कार्यरत प्रहरी, सिभिल टोलीमा खटिएका प्रहरी, मुचुल्का उठाउने कार्यमा रहेका प्रहरीलाई पनि काठमाडौँ झिकाइएको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा संग्लन विष्टसहित ६ जना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् । उक्त काण्डमा प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट नक्कली अभियुक्त भएको पुष्टि भएपछि प्रहरी अधिकारीहरू निलम्बनमा परेका थिए । गत साउन १० गते साथीको घरमा निस्किएकी भीमदत्त नगरपालिका २ महुलियाकी १३ वर्र्षीय निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्