पोखरा–बागलुङ्ग सडक असोज २० सम्म दैनिक सात घण्टा बन्द



?

दुर्गाप्रसाद शर्मा, पर्वत ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा असोज २० गते सम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालिएको छ ।

सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि खरेहा गेट सम्म असोज १ गते देखि २० गते सम्म दैनिक सात घण्टा बन्द गर्न थालिएको हो ।

ोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिर र दोबिल्ला देखि चुवा सम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भैरहेको छ सडकमा बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म दुई घण्टा , दिउँसो १ बजे देखि ४ बजे सम्म ३ घण्टा र साँझ ६ बजे देखि राती ८ बजे सम्म २ घण्टा सडक बन्द भैरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

असोज २० देखि दशैं शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए । सडक खुल्ला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरि ब्यबस्थापन भैरहेको छ । असोज ५ देखि हुने नेपाल जेसिजको क्षेत्र ख सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामाग्रीलाई समेत हटाएर सडक फराकिलो बनाउने काम भएको प्रोजेक्ट म्यानेजर भुसालले बताए ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । अहिले सम्म १५ प्रतिशत काम सकिएको म्यानेजर भुसालले जानकारी दिए । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशै तिहारपछि कामलाई अझै तीब्र बनाउने निर्माण कम्पनीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ ।

मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।

प्रतिक्रिया दिनुहोस्