राप्रपा बैठक शुरुः अध्यक्ष थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै 



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको पूर्ण बैठक आज देखि काठमाण्डौमा शुरु भएको छ । बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावि कार्यदिशा सम्बन्धि राजनैतिक प्रतिवेदन पेश गर्नु भएको छ ।

बैठकमा अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ । बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय र संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको छ । बैठकमा ७ मध्ये ५ वटा प्रदेश कार्य समितिका अध्यक्षले प्रदेश संगठन सम्बन्धि प्रतिवेदन पेश गरेका छन् ।

मंगलबारको बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले छलफलमा भाग लिएका थिए । अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको कार्यपत्रमा एउटा निर्वाचनको परिणामले पार्टीको विचार र भविष्य समाप्त नहुने उलेख गर्दै अनेक राजनीतिक उतारचढाव र निराशाजनक चुनाव परिणामका बावजुद अहिले पनि संसदमा प्रतिनिधित्व रहेका दलहरु मध्य हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने राजनीतिक दल राप्रपा मात्र भएको उल्लेख छ ।

राप्रपा सक्रिय र बलियो हुन नसके हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको भविष्य समेत धरापमा अध्यक्ष थापाको विश्लेषण छ । ‘यो एजेण्डा बोक्ने अर्को कुनै दल छैन र यो यथार्थ हाम्रो लागि चुनौति, अवसर र राष्ट्रिय दायित्व समेत हो’ अध्यक्ष थापाको प्रतिवेदनमा भनिएको छ– नेपाल कहिल्यै हिन्दुराष्ट्र नहोस् र राजसंस्था कहिल्यै नफर्कोस् भनि चाहनेहरुले पटक पटक राप्रपालाई आक्रमण गरेका छन् । फुटाउने र कमजोर बनाउने प्रयास गरेका छन् तथा नेतृत्वको चरित्र हत्या गर्ने कार्य गरेका छन् ।

संविधान जारि भएको तिन वर्ष पुरा हुंदैछ । नयाँ संविधान बमोजिम प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न भै सरकार गठन भएको पनि ६ महिना पुरा हुंदैछ । तर, सर्वसाधारण जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । मुलुकको अवस्था विगतको तुलनामा जटिल र संकट ग्रस्त बन्दैछ भन्दै अध्यक्ष थापाले भन्नुभएको छ– भ्रष्ट राजनीतिक नेता, व्यापारी र प्रशासकको त्रिकोणात्मक फलामे गठबन्धनले देशमा ब्रम्हलुट मच्चाएको छ ।

घुस बिना कुनै काम हुंदैन, अनि घुस दिएपछि नहुने कुनै काम छैन । नियम कानुन गरीब, निमुखा र असहायको निमित्त मात्र लागु हुन्छ । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ । बैठक आज वुधवार सकिने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्