यस वर्षको बर्षाले रुकुममा ३० करोडको क्षति



धनवीर दाहाल, रुकुम ।
बर्षातको समयमा सबै भन्दा बढी प्राकृतिक प्रकोपका घटना घट्ने गर्दछन् । यस बर्ष पनि रुकुम पश्चिममा तिस करोड बढी क्षति भएको जिल्ला विपद व्यवस्थापन समितीले जनाएको छ ।

रुकुम पश्चिममा रहेका ६ स्थानीय तह मध्य सबै भन्दा बढी मुसिकोट नगरपालिकामा ७ करोड, दुई लाख, १२ हजार क्षति भएको छ भने सबै भन्दा कम क्षति बाँफिकोट गाँउपालिकामा २ करोड, ५१ लाख,३६ हजार भएको छ । मानविय क्षति नभए पनि बाढी पहिरोबाट ६ स्थानीय तहमा ३० करोड, १५ लाख,८२ हजार क्षति भएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले बताउनुभयो ।

जिल्ला विपद व्यवस्थापन समितीका अनुसार आठबिसकोट नगरपालिकामा ३१ घर पुर्ण रुपमा क्षतिग्रस्त भएको तथा १७ घरमा आंशिक रुपमा क्षति पुगेको छ । सो नगरपालिकामा ६ करोड, ४३ लाख, ३१ हजार क्षति भएको छ । यस्तै मुसिकोट नगरपालिकामा १५ घर पुर्णरुपमा क्षतिग्रस्त भएको र ५१ घरमा आंशिक क्षति भएको छ ।

मुसिकोटमा ७ करोड,२ लाख,१२ हजार क्षति भएको छ । चौरजहारी नगरपालिकामा ४ वटा घरमा पुर्ण रुपमा पुगेको,२९ घरमा आंशिक क्षति भई २ करोड,५९ लाख,६८ हजार क्षति भएको जिल्ला विपद व्यवस्थापन समितीले जनाएको छ ।
यसै गरी सानीभेरी गाँउपालिकामा ७ वटा घर पुर्णरुपमा क्षति भएको,१० वटा घरमा आंशिक क्षति भएको र जम्मा ६ करोड ५० लाख ५ हजार बराबरको क्षति हुन पुगेको बताइएको छ । त्रिबेणी गाँउपालिकामा २ वटा घरमा पुर्ण रुपमा क्षति पुगेको र ६६ वटा घरमा आंशिक क्षति भएको तथा ४ करोड,४ लाख,६० हजार बराबारको क्षति यो बर्षातमा भएको छ ।

यस्तै बाँफिकोट गाँउपालिकामा १० वटा घर पुर्ण रुपमा क्षति भएको,३४ वटा घरमा आंशिक क्षति भएको र २ करोड ५१ लाख ३६ हजार बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी रेम्भीले जानकारी दिनुभयो । क्षतिको विवरण गृहमन्त्रालय तथा कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पठाइएको समेत प्रजिअ रेग्मीले बताउनुभयो । उहाँका अनुसार आठबिसकोट नगरपालिकाको ३१ घर परिवारको लागी प्रति घर ५० हजारको दरले राहत आइसकेको र पिडितको नाममा बैंक खाता संचालन गरी रकम हस्तानतरण गरिने छ । अन्य स्थानीय तहहरुमा पनि क्षतिको बिवरण पठाइसकिएको र राहत माग गरिएको उहाँको भनाई छ ।

बिशेष गरी स्थानीय तहले विपद व्यवस्थापन सम्बन्धी स्पष्ट योजना नबनाउँदा तथा विकासको नाममा हिउँदको समयमा जथाभावी डोजर र स्काभेटर प्रयोग गर्दा बर्षातको समयमा त्यही जमिन पहिरोमा परिणत भई क्षति धेरै भएको विवद व्यवस्थापनका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्