हारती मन्दिरमा विज्ञान प्रदर्शनी



नेपाल समाचारपत्र, काठमाडौं ।
हारती शिक्षा मन्दिरले विज्ञानसँग जोडिएका विभिन्न आविष्कार र उपकरणको प्रदर्शनी गरेको छ ।

स्वयम्भू मिलन टोलमा अवस्थित विद्यालयका विद्यार्थीले विविध वस्तुको नमूना प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित प्रदर्शनीमा रोवर्ट, वाटर फाउन्टेन, विद्युतीय जेनेरेटर, विद्युतीय घन्टी, भ्याकुम क्लिनर, टेम्पो, पानीजहाज, हाइड्रोलिक लिफ्ट, एसी जस्ता सामग्री तयार गरिएको थियो । कक्षा ८, ९ र १० का छात्रछात्राले यस्ता सामग्री तयार गरेका हुन् ।

विज्ञानका खोज र आविष्कारलाई विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्दा विज्ञानलाई अझ सरल ढंगमा बुझ्न÷बुझाउन प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमका अतिथि एवं पाटन क्याम्पसका भौतिकशास्त्रका प्राध्यापक प्रकाश प्रकाश श्रेष्ठ र विद्यालयका सहप्राचार्य सुमन अर्यालले सर्वोत्कृष्ट छात्रछात्रालाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रदर्शनी आसपासका अन्य विद्यालय र कलेजका छात्रछात्राले समेत अवलोकन गरेका सो विद्यालयका गणित संकाय प्रमुख जेएन अर्यालले जानकारी दिनुभयो । यस्तो अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्