बैतडीमा नेपाल बन्दको प्रभाव, सवारीसाधन ठप्प



विनोद सिंह विष्ट , बैतडी ।

नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहले गरेको एक दिने नेपाल बन्दको प्रभाव बैतडीमा पनि परेको छ । आज बिहानैदेखि छोटो तथा लामो दुरीका सवारीसाधनहरु चल्न सकेका छैनन् । सवारीसाधन बन्द रहेपनि कार्यालयहरु भने निर्वाद रुपमा खुल्लै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बन्दका कारण सवारी साधन सञ्चालन नहाँदा यात्रुहरुलाई समस्या भएको छ । उनीहरु हिडेरै यात्रा गर्न बाध्य भएका छन् ।

चर्को घाममा घण्टौँ सडकमा हिडेर यात्रा गर्नु परिरहेको खोड्पेबाट हिडेर सदरमुकाम पुगेका सिगासका दलबिर ऐरीले बताउनुभयो । हामी १२ जना झुलाघाट जानका लागी हिजै घरबाट हिडेको र गाडी नचल्दा आज पनि बाटोमै रहेको सिगासकै रामसिंह ऐरीले बताउनुभयो ।

कञ्चनपुरमा बलात्कार पछी हत्या गरिएकी १३ वर्षीय बालीका निर्मला पन्तका वास्तविक दोषी तत्काल पत्ता लगाउन माग गर्दै विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बालिका पन्तको साउन १० गते बलात्कारपछी हत्या गरिएको थियो । ५३ दिनसम्म पनि वास्तविक दोषी पत्ता नलाग्दा सरकारको आलोचना हुदै आएको छ भने देशैभर आन्दोलन जारी रहेको छ । आन्दोलनकै क्रममा यसअघि प्रहरीको गोली लागेर कञ्चनपुरमा १४ बर्षीय बालकको ज्यान गएको थियो भने केही घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्