ढल्की ढल्की आयंका



इन्गेजमेन्ट गरेर आयंका बनेका नायक–नायिका आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको डान्सिङ गीत ढल्की ढल्की सार्वजनिक गरिएको छ। रिलिजका लागि तयार भएको आयुष्मान र प्रियंकाको फिल्म चंगा चेटको यो डान्सिङ नम्बर सोमबार सार्वजनिक गरिएको हो।

आगामी कात्तिक १६ गते अल नेपाल रिलिज हुने फिल्मको यो गीतमा आयुष्मान र प्रियंकाका साथमा सुरक्षा पन्त, परमिता आरएल राणा, रवीन्द्र झा र सन्दीप क्षेत्रीलाई प्रस्तुत गरिएको छ। भिडियोमा आयुष्मान र प्रियंका, रवीन्द्र र सुरक्षा तथा सन्दीप र परमितालाई जोडीका रूपमा प्रस्तुत गरिएको छ। गीतमा अल्मोडा राना उप्रेतीको स्वर, हरिहर तिमिल्सिनाको शब्द र मिस्टर आरजेको संगीत छ। पशुपतिप्रसाद निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म डार्क कमेडी कथामा रहेको छ।

फिल्ममा नक्कली नोटको कथालाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको बताइएको छ। माधव वाग्ले र शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्ममा कोरियोग्राफी प्रवीण सिंह र छायांकन निरज कँडेलको रहेको छ।

प्रतिक्रिया दिनुहोस्