नेपालको पहिलो खेल फिलिपिन्ससँग



काठमाडौं, (नेस)
हल्चोक मैदानमा हुने एएफसी यु १६ महिला फुटबल च्याम्पियनसिप २०१९ छनोट अन्तर्गत नेपालको पहिलो खेल फिलिपिन्ससँग हुनेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार समूह ई मा रहेको नेपालले बुधबार फिलिपिन्ससँग खेल्नेछ । सो समूहमा नेपालसहित फिलिपिन्स, म्यानमार र मलेसिया रहेका छन् । सोही समूहमा रहेको अर्को टोली सिरियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपालले राम्रै गर्ने विश्वास लिएका छन् । उनले बताए—हाम्रो लक्ष्य छनोट हुने हो । प्रशिक्षण लगातार भएको छ । यसैले शीर्ष दुईमा रहेर छनोट हुन सक्ने संभावना त्यतिकै छ ।

नेपालले असोज ३ गते फिलिपिन्ससँग, असोज ५ गते म्यानमारसँग र असोज ७ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । तीनै टोली नेपाल आइसकेको पनि एन्फाले जानकारी गरायो । हरेक समूहका शीर्ष दुईमा रहने टोलीले थाइल्यान्डमा हुने यु १६ महिला च्याम्पियनसिप २०१९ मा खेल्न पाउनेछन् ।

सो प्रतियोगिता आयोजन ागर्न १ करोड ३५ लाख खर्च हुने पनि एन्फाले जनायो । टिकट दर २ सय राखिएको छ भने एसियाली फुटबल महासंघ (एएफसी) ले सो प्रतियोगिता आयोजना गर्न २० हजार डलर प्रदान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्