ए डिभिजन लिगको ट्रफी टुर शुरु



नेपाल समाचारपत्र, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर नेपाली फुटबलको इतिहासमा पहिलो पटक शुरु भएको छ । सोमबार ट्रफीलाई काठमाडौस्थित दशरथ रंगशालामा प्रदर्शन गरियो । स्कोर अ गोल को नारासहित दशरथ रंगशालामा प्रदर्शनमा राखिएको ट्रफी टुरमा एन्फाका अध्यक्ष तथा पदाधिकारी, अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कलाकार र रंगशाला नजिकको स्कूल विश्व निकेतका विद्यार्थी सहभागि रहेका थिए ।

सो ट्रफी टुर कार्यक्रम काठमाडौं, ललितपुर र भक्तपुर गरी ७ स्थानमा हुने एन्फाको लिग समितिका संयोजक विज्ञानराज शर्माले बताउनुभयो । ए डिभिजन लिग ४ वर्षपछि आयोजना हुँदैछ । यसैले सो लिगका लागि ट्रफी टुर को आयोजना गरेर लिग फुटबलको वातावरण सिर्जना गर्नु उद्देश्य रहेको पनि शर्माले बताउनुभयो ।

पछिल्लो पटक २०७० मा ए डिभिजन लिग आयोजना भएको थियो । जसमा मनाङ मस्र्याङदी क्लबले जितेको थियो । यो मनाङको सातौं लिग उपाधि थियो । यसले मनाङलाई सर्वाधिक लिग जित्ने टोली पनि बनाएको छ । नेपालकै पुरानो टोली रानीपोखरी कर्नर क्लब (आरसीटी) ले लिग उपाधि ६ पटक जितेको छ । तर हाल आरसीटी बी डिभिजनमा रहेको छ ।

सहिदको नाममा समर्पण भएको सो ट्रफी अहिलेसम्म १४ टोलीले जित्न सफल भएको छ । आरसीटी र मनाङपछि नेपाल पुलिस क्लब र थ्रीस्टारले ५÷५ पटक उपाधि हात पारेका छन् । महावीर क्लबले ३ पटक जितेको थियो । तर यो क्लब अहिले अस्तित्वमा रहेको छैन ।

अन्यमा अन्नपूर्ण क्लब, देउराली क्लब, विद्यया व्यायाम र सुनाखरी क्लबले पनि यो ऐतिहासिक उपाधि चुमिसकेका थिए । यी क्लबहरुको पनि विर्सजन भइसकेका छन् । यस्तै हाल सक्रिय रहेका टोलीहरु त्रिभुवन आर्मी क्लब, फ्रेन्डस् क्लब र ब्वाइज युनियन क्लब लिग विजेता बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्