स्व. महर्जनको परिवारलाई विमा रकम हस्तान्तरण



काठमाडौं, (नेस)
साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको १ वर्षको लागि विमा गरेको थियो । स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी हुनु पूर्व गत जेठ ३० गते श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनल गौतमले स्व. महर्जनकी आमा मैया महर्जन श्रेष्ठलाई विमा वापतको रकम ७ लाख रुपैयाँ बराबरको चेक त्रिपुरेश्वरस्थित राखेपमा हस्तान्तरण गरे । यसअघि राखेपले एनएलजीसंगै भारतमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत विमा गरेको थियो ।

जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानुनी प्रकृया पूरा गर्दा असार ७ गते मात्र उनको पार्थिव शरीर काठमाडौं ल्याइएको थियो । त्यसै दिन उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केहि घण्टा राखेप हातामा राखि पशुपति आर्याघाटमा अन्त्येष्ठि गरिएको थियो ।

३३ वर्षको उमेरमा मृत्यु वरण गरेका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ संघले जनाएको छ । स्व. नारायण अबिवाहित थिए । स्व. नारायणका आमा, बुवा र दुई दिदी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रले खेलाडी र आमाले छोरा गुमाउनु अत्यन्तै पीडादायी क्षण भएको बताउदै खेलाडीको विमा गरिदिएकोमा राखेपलाई धन्यवाद दिए ।

साइक्लिङ संघको सहयोग
सोही विमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ संघले स्व. नारायणका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व. नारायणकी आमा श्रेष्ठलाई १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । अध्यक्ष कक्षपतिले १ लाख साइक्लिङ संघबाट उपलब्ध गराइएको र बाँकी रकम अन्यबाट संकलित भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्