‘शान्ति सरक्षामा सम्झौता हुन्न’



काठमाडौ(नेस) । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयद्वारा संचालित समुदाय–प्रहरी साझेदारी अवधारणा सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधका गतिविधि नियन्त्रण गर्न सामुदायिक प्रहरीको भूमिका उल्लेखनीय हुने बताउँदै आगामी दिनमा देखा पर्न सक्ने चुनौतिको पहिचान गरी त्यस्ता चुनौतिको सामना गर्न कार्य योजना बनाई अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

विगतमा संचालित विभिन्न सामुदायिक कार्यक्रमहरुको पुनरावलोकन गरी कमी कमजोरीलाई निर्मूल गर्दै प्राप्त अनुशिक्षण मार्फत हासिल गरेका ज्ञान तथा कौशलको उच्च प्रदर्शन गर्दै प्रहरीलाई समाजमा रोलमोडलको रुपमा स्थापित गर्न सबै प्रहरी कर्मचारीहरुले अनुशासित भई व्यावसायिक, निष्ठावान र इमान्दारिताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय तहमा सामुदायिक प्रहरीको बढ्दो आवश्यकतामाथि चर्चा गर्दै उहाँले अनुशिक्षणमा मात्रै सीमित नभई अझ धेरै अध्ययन गरी स्पष्ट दृष्टिकोणमा आफूले आर्जन गरेको ज्ञान तथा कौशल सामुदायिक कार्यक्रममा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले निकट भविष्यमा समुदाय–प्रहरी साझेदारीताको अवधारणा कार्यान्वयन र विद्यालयहरुमा सामुदायिक सुरक्षा सम्बन्धी पाठ्यक्रम संचालन गर्ने योजना अनुरुप अनुशिक्षण संचालन गरिएको बताउनुभयो ।

अनुशिक्षणमा बाल मनोविज्ञान र प्रभावकारी बाल प्रशिक्षण विधि, बालबालिका प्रशिक्षणमा व्यवहार, शब्द र भाषाहरुको प्रयोग, साईबर अपराध तथा सुरक्षा लगायतका विषयहरु रहेको उहाँले जानकारी दिनुभयो ।

अनुशिक्षणमा प्रहरी वरिष्ठ उपरीक्षक ४, प्रहरी उपरीक्षक ३, प्रहरी नायव उपरीक्षक १७ र प्रहरी निरीक्षक ९ गरी कुल ३३ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्