बेंसीशहर–चामे सडक खुल्न अझै समय लाग्ने



नेपाल समाचारपत्र, लमजुङ
गत बधुबार मध्यान्ह २ बजेदेखि मुसलधारे वर्षाका कारण अबरुद्ध बेसीशहर–चामे सडक खुल्न अझै समय लाग्ने भएको छ । ठाउँ ठाउँमा पहिरो गएर सडक क्षतविक्षत भएका कारण हिमाली जिल्ला मनाङसँगको सडक सम्बन्ध टुटेको छ ।

पहिरोले सडक क्षतविक्षत बनाइदिँदा सवारी साधन मात्र हैन मानिसहरूको पैदल आवागमन पनि प्रायः ठप्प छ । बेसीशहर नगरपालिका– ६ बेलौति विसौनाको खरखरे पहिरोदेखि मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेसम्मको सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा हिमाली जिल्ला मनाङसँगको सडक सम्बन्ध टुटेको हो । गत बुधबारदेखि सवारी साधन विच सडकमै थन्किन बाध्य भएका छन् । यात्रुहरूलाई पदैल यात्रामासमेत किन कठिन हुने गरेको छ । बीचमै रोकिएका पर्यटक तथा सर्वसाधारणको प्रहरी र सेनाले उद्धार गरिसकेको छ ।

उक्त सडक क्षेत्रमा विभिन्न ठाउँमा पहिरो जाँदा ४ जनाको मृत्यु भयो, एक जना अझै बेपत्ता छन् । दर्जनाँै घर गोठ पहिरोले पुर्ने र बगाउने गरेको छ भने चार दर्जन बढी पशु चौपाय पहिरोमा परी मरेका छन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भन्नुन भयो, ‘गाउँपालिका पुरै प्रभावित भएको छ, खाद्यान्न ढुवानी हुन सकेको छैन, पदमार्गमा आएका पर्यटक रोकिएका छन् ।’

कुखुरा व्यवसायीसमेत रहनु भएका लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाईका अध्यक्ष वीरेन्द्र भण्डारीले सडक अबरुद्ध हुँदा यस क्षेत्रमा पालिएका हजारौँ कुखुरालाई दानाको समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दाना स्टक पनि थिएन, बाटो यसरी विग्रिन्छ भनेर सोचेकै थिएनौँ ।’, भण्डारीका अनुसार बेसीशहरदेखि दाना ल्याउनै सकिएको छैन ।

बेसीशहर नगरपालिका–६ को बेलौति विसौना खरखरेदेखि मस्र्याङ्दी गाउँपालिकाको खुदी, भुलभुले, सिउरुङबेंसी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायत ठाउँहरूमा पहिरो गएर कहिकहिँ त सडक कहाँ थियो भन्ने सम्म ठम्याउन पनि कठिन भएको मस्र्याङ्दी गाउँपालिका– ४ का जीतबहादुर गुरुङले बताउनु भयो ।

मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले धेरै ठाउँमा पहिरो गएपछि मनाङ र लमजुङबीचको सडक सम्बन्ध टुटेको बताउनु हुन्छ ।
सेनाको हेलिकप्टरबाट पहिरो निरीक्षण गरेर फर्किनु भएका नेकपा संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङले पहिरोका कारण सडक खुलाउन धेरै समय लाग्ने देखिएको बताउनु भयो । गुरुङले भन्नुभयो, ‘बाटो तत्काल खुल्ने स्थिति छैन । बाटो खुलाउन बजेटका लागि केन्द्रीय तहमा पहल गर्छु । उहाँसँगै संविधानसभा सदस्य जमीन्द्रमान घले, गृहमन्त्रालयअन्तर्गत विपत् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे लगायतले उक्त सडक खण्डमा गएको पहिरोको निरीक्षण गर्नु भएको हो ।

अबरुद्ध सडक खुलाउनका लागि डिभिजन सडक कार्यालय र मस्र्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका एक्साभेटर र डोजर प्रयोग गरि पहिरो पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘पुर्णरूपमा सडक खुलाउन धेरै समय लाग्छ ।’

बेसीशहर– चामे सडक अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ । सो सडक बनेसँगै सो पदमार्गमा समेत सुस्तता आएको छ । मस्र्याङ्दी गाउँपालिका– ६ को बाहुनडाँडाहुँदै मनाङको ताल निस्किने पदयात्रा मार्ग पनि पहिरोका कारणले विगारेको स्थानीय कामसार्की गुरुङले बताउनु भयो । उहाँका अनुसार करिब ३० किमि सडकको ठाउँठाउँ क्षतविक्षत भएपछि तत्काल मर्मत हुने सम्भावना कम छ ।

कुल ६५ किमी रहेको बेसीशहर–चामे सडकको लमजुङ खण्डमा ३५ किमी पर्दछ । सो खण्डमा पटक पटक सडक अबरुद्ध हुँदै आएको छ । मनाङतर्फको ३० किलोमिटरमा चामे नजिकै पहिरो गएर एकसाता बन्द बाहेक अन्य समस्या नदेखिएको चामे गाउँपाकिका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्