वैदेशिक रोजगारी बाध्यता हो



पछिल्लो समय नेपाली युवाहरुमा वैदेशिक रोजगारीको मोह बढ्दो छ । विभिन्न संघसंस्थाले संकलन गरेको तथ्यांकले नेपाली युवाहरु सय बढी मुलुकमा रोजगारीको लागि जाने गरेको खुलेको छ । मुलुकमा रोजगारीको अवसर कम हुँदै गएको तर महँगी बढेर जीवन कष्टकर बन्दै गएको अवस्थामा वैदेशिक रोजगारीले धेरैलाई राहत पनि दिएको छ ।

यस्तोमा वैदेशिक रोजगारी फस्टाउने कुरा स्वाभाविक पनि हो । केही समयअघिसम्म युवकहरु मात्र रोजगारीका लागि विदेश जान्थे तर हिजोआज युवतीहरुको संख्या पनि उस्तै छ । यहाँसम्म कि नेपाल सरकारले महिलालाई रोजगारीमा जान प्रतिबन्ध लगाएको खाडी मुलुकहरुमा समेत ठूलो संख्यामा युवतीहरु रोजगारीको लागि गएको अवस्था छ ।

नेपाल सरकारले महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको खाडी मुलुकमा ठूलो संख्यामा नेपाली महिला कामदार रहेको बताइन्छ । धेरै कमाउन सकिने प्रलोभन देखाएर दलालहरुले भारतको बाटो हँुदै महिलाहरुलाई कुवेत, बहराइन, इराक, कतारलगायतका मुलुकमा लैजान्छन् । गाउँ–गाउँमा पुगेर दलालहरुले मासिक ३०–४० हजारसम्म कमाउन सकिने बताएपछि गरिब र अशिक्षित महिलाहरु सजिलै फस्ने गरेका छन् ।

चितवनको माडी, नारायणी, चित्रवन, रत्ननगर तथा खैरहनी नगरपालिका, भरतपुर उपमहानगरपालिका एवम् पदमपुर, भण्डारा, जुटपानी र लोथर गाविसका धेरै महिला रोजगारीको लागि खाडीमुलुक जाने गरेको पाइन्छ । अधिकांश महिला दलालले धेरै कमाइ हुन्छ भनेकै भरमा कुरा नबुझी विदेश जान्छन् । उनीहरुलाई कुन देशमा जान कति रुपियाँ लाग्छ, के काम गर्नुपर्ने हो, कति रुपियाँ पाइन्छ र खानेबस्ने व्यवस्था कस्तो छ ? भन्नेसम्म पनि थाहा हुँदैन । यस्तोमा उनीहरु विदेशमा गएपछि समस्यामा पर्ने गरेका छन् ।

विदेशमा होस् वा स्वदेशमा, नेपाली नागरिकलाई समस्या परेको बेला सरकारले सहयोग गर्नुपर्दछ । नेपालमा बसेर नेपालीलाई ठग्ने जोकसैलाई कानुनबमोजिम कार्वाही गरिनुपर्दछ तर नेपाल सरकारले न नेपालीलाई ठग्नेमाथि कार्वाही गर्न सकेको छ, न समस्यामा परेका नेपालीलाई सहयोग गर्न सकेको छ । यसबाट ठग्नेहरुले उन्मुक्ति पाउने र अझ धेरै नेपाली युवाहरु ठगिने अवस्था सिर्जना भैरहेको छ ।

हुन त नेपालको कानुनमा वैदेशिक रोजगारीको नाममा ठगी गर्नेमाथि कडा कार्वाही हुने व्यवस्था छ तर जानकारीको अभावमा ठगिएका धेरैले उजुरी गर्दैनन् । यस्तोमा विभिन्न संघसंस्था तथा स्थानीय निकायहरुले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सचेत पार्ने, वैदेशिक रोजगारीमा गएकाहरुको रेकर्ड राख्ने र वैदेशिक रोजगारीका नाममा ठगिनेहरुलाई सहयोग गर्नुपर्दछ । स्वदेशमा होस् वा विदेशमा, कोही पनि नेपाली नठगिने अवस्था बनाउन सबैको सहयोग आवश्यक छ ।
– अञ्जली कँुवर, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्