विप्लव नेकपा रोल्पाका जिल्ला सेक्रेटरी पक्राउ



महेश न्यौपाने, रोल्पा ।
देशभर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ गर्दै आएको प्रहरीले सोमवार सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुबेदीलाई पक्राउ गरेको छ ।
पार्टी अभियानका शिलसिलामा रोल्पा नगरपालिका १० धवाङ पुगेका सुवेदी सोही स्थानवाट पक्राउ परेका हुन । जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमवाट सुवेदी पक्राउ परेको सुरक्षा श्रोतले जनाएको छ ।

पक्राउ पछि सुवेदीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको वताइएको छ । सुवेदी संगै सो पार्टीका अन्य नेता कार्यकर्ता समेत रहे पनि अरुलाई भने पक्राउ नगरेको वताइएको छ । पार्टी केन्द्रले आह्वान गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानमा लागेका सुवेदीलाई प्रहरीले लामो समय निगरानी मा राख्दै आएको वताइएको छ । सुवेदी के कारण पक्राउ परे भन्ने अहिलेसम्म खुलाइएको छैन । संगठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रीत हुन थालेका छन ।

प्रतिनिधि सभा निर्वाचनका क्रममा यस अघि पनि लामो समय हिरासत वसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन । सन्तोष तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन । उनी केही वर्ष अघि तत्कालिन नेकपा माओवादी केन्द्र परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

रोल्पा प्रहरीले केही दिन अघि घर्तीगाउँवाट सो पार्टीका जिल्ला सचिवालय सदस्य देववहादुर वलीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्