पर्सामा रोकिएन धुब्रे र गोबिन्देका सन्तानको ताण्डव



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको ठोरीमा जंगली हात्तीले श्रृखलाबद्ध रुपमा आतंक मच्चाउन थालेको छ।

हात्तीको आक्रमणमा परी ठोरीमा मात्र्रै पछिल्लो पाँच बर्षमा तीनजना सर्वसाधारण ज्यान गइसकेको छ भने पाँच दर्जन घरमा क्षति पु¥याएको छ । खासगरी पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिर्ने हात्तीले आतंक मच्चाउने गरेको हो ।

कहिले धुब्रे हात्ती र कहिले गोबिन्देको नाउँमा ठोरीमा हात्तीले मानवीय क्षति गर्ने गरेको छ। आइतबार राति मात्रै ठोरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट नुवाकोट घर भएकी २३ वर्र्षीया रेजिना वाईवाको मृत्यु भएको हो ।

ठोरी गाउँपालिका वडा नम्बर ३ शिकारीबास पुल नजिकै हात्तीको आक्रमणबाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रमेश विष्टले जानकारी दिए । वाईबा ठोरीको १ विजयबस्तीस्थित खाजा घरमा १ वर्षदेखि काम गर्दै आईरहेकी थिइन् । रातको समयमा गर्मी छल्नका लागि राति कोठाबाट बाहिर निस्किएको समयमा उनलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताए ।

किन आक्रमण हुँदैछ हात्ती ?

पर्साको ठोरी,निर्मलबस्ती र सुवर्णपुरमा हात्तीले बढी क्षति गरेको छ । जंगली षेत्रमा ती बस्तीहरु जेडिएका कारण हात्तीको आतंक बढेको हो । हात्ती बिशेषज्ञ बावुराम गोपालीका अनुसार हात्ती नभइ मानिस हात्तीका बिरुद्धमा उत्रिएपछि हात्ती बढी हिंस्रक बनेको हो ।हात्ती हिँड्ने बाटोमा मानिसले घर बनाउने,खेतीगर्ने तथा हात्तीलाई आवतजावतमा नै समस्या पर्न थालेपछि हात्ती हिंस्रक बनेको उनको तर्क छ ।

हात्ती नियन्त्रणका लागि गाउमा तारजारी लगाउनु भन्दा पनि हात्ती हिँड्ने बाटो सहज बनाइदिनुपर्ने उनको भनाइ छ । हात्ती प्रायः एउटै बाटो हिँड्ने भएपनि बाटो अवरुद्ध भएपछि बस्तीमा छिर्ने र हात्ती मच्चाउने गरेको पाइएको छ । ठोरी क्षेत्रमा आतंक मच्चाउने हात्ती गोबिन्दे वा धुब्रेकै सन्तान रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्