‘‘तात्तै खाँउ जली मरिजाँउ’’ कहिल्यै गर्नु हुँदैनः निर्देशक निरौला



वि.सं. २०४० साल भाद्र ४ गतेदेखी विराटनगर रंगमञ्चबाट आफ्नो नृत्यलाई अगाडी बढाउदै वि.सं. २०४७ सालदेखी नेपाली टेलिसिरियल ‘अग्निपथ’ बाट कलाकारिता क्षेत्रमा प्रवेश गर्दै बीचमा विभिन्न टेलिसिरियल गरिसकेपछि वि.सं. २०६० साल भाद्र ४ गतेदेखि प्रसारणमा आएको ‘तीतो सत्य’ टेलिसिरियलबाट निकै चर्चा बटुल्दै विभिन्न चलचित्रमा काम गरिसकेकी एक सफल सञ्चारकर्मी, हाँस्य कलाकार एवम् निर्देशक जोे अहिलेपनि रेडियो अडियोमा ‘धनियाकी दुनिया’ कार्यक्रम सञ्चालन गर्दै आएकी दिपाश्री निरौलासंग प्रदिप विवश भण्डारीले गरेको कुराकानीको सारसंक्षेप ।

कहाँ जन्मनुभयो र तपाईको बाल्यकाल कस्तो थियो ?
मेरो जन्म वि.सं २०३२ साल भाद्र ७ गते कहेलीटोल, विराटनगरमा भएको हो । म सानैदेखी निकै चन्चले स्वभावकी थिए । चन्चले भएकै कारण होला मैले सबैको माया धेरै पाउथे । पढाईमा त्यति झुकाब भने थिएन मेरो तर नृत्यमा भने निकै रुची लाग्थ्यो । म जहाँ गएपनि नाच्ने गथ्र्ये । घरमा बाबा आमाले निकै दुःख गर्ननुभयो तर हामीलाई दुःखको महशुस कहिल्यै हुन दिनुभएन । एकमुष्ट रुपमा भन्नुपर्दा मेरो बाल्यकाल रमाईलोसंग नै बित्यो ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि म छक्का पञ्जा ३ को प्रचार प्रसारमा व्यस्त छु । यो फिल्म यहि दशैंमा देशभर प्रदर्शनमा आँउदै छ । अबको केहिदिन भित्रमा ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ । आजभोलि त्यसैमा तल्लीन रहेर हाम्रो सम्पूर्ण टिम लागिरहेको छ ।

तपाई यस क्षेत्रमा लामो समय कसरी टिक्न सफल हुनुभएको छ ?
वास्वममा म भाग्यमा विश्वास गर्ने मान्छे त्यसैले म मेरो भाग्य र दर्शक श्रोताहरुको मायाले नै आजसम्म यस क्षेत्रमा टिकेको छु । म यहि कलाकारिता क्षेत्रमा नै जिवित रहने लक्ष्यले आफुलाई परिवर्तन गर्दै गए र सफल हुँदै पनि गएको छु र आउने दिनहरुमा पनि यस्तै सफल हुनेछु र दर्शक श्रोताको माया पाएसम्म म यहि क्षेत्रमा अडिक रहेनेछु ।

कसरी यो क्षेत्रमा आउने प्रेरणा मिल्यो ?
म यस क्षेत्रमा आउनका लागि प्रेरणा भन्दा पनि मैले कर्म गरिरहँदा मलाई भाग्यले नै यतातिर डो¥याएको हो । भगवानले मलाई सानै देखि नृत्यमा रुची गराईदिनुभयो र त्यसैमा कर्म गर्दै जाँदा यहाँ सम्म आईपुगेकी छु ।

यस क्षेत्रमा आउन चाहाना भएका साथिहरुका लागि के भन्न चाहानुहुन्छ ?
तपाईहरुले ‘‘तात्तै खाँउ जली मरिजाँउ’’ कहिल्यै नगर्नुहोस, यस क्षेत्रमा आउन र टिक्न तपाईले सोचेजति सहज भने पक्कै पनि छैन । यदि आफूमा आत्मविश्वास छ म पनि यस क्षेत्रमा केहि गर्न सक्छु भन्ने आँट छ भने मात्र आउनुहोस् र संघर्ष गर्न कहिल्यै नछाड्नुहोस्, धैर्य गर्ने बानी बसाल्नुहोस् र अरुको देखासिखी भन्दा पनि आफूमा के कति कला छ भनि बुझेर त्यस कलालाई अगाडिका दिनमा बृद्धि गर्दै जानुहोस तपाई एकदिन अवस्य सफल हुनुहुनेछ । हामी पनि संघर्ष नगरी लामो समय धैर्य नगरी यहाँसम्म आईपुगेका होईनौ । मैले पनि यो २६ वर्ष पछि पाएको सफलता हो ।

अन्त्यमा केहि भन्न मन छ कि ?
मैले निर्देशन गरेका चलचित्र छक्का पञ्जा र छक्का पज्जा २ को अपार सफलतापछि तेस्रो चलचित्र छक्का पञ्जा ३ यहि दशैंमा प्रर्दशनमा आँउदै छ । सम्पूर्णले हेरिदिनुहोला र अगाडिका दिनहरुमा जस्तै माया गरिदिनुहोला हामीले निकै मेहनत गरेर सक्दो राम्रो बनाउने कोसिस गरेका छौँ । राम्रो गरेर नै हजुरहरुको माया, साथ, सुभेच्छा पाईरहेका छौ । त्यसका लागि सम्पूर्ण दर्शकहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु र आउदा निदहरुमा पनि यस्तै राम्रा–राम्रा चलचित्र तपाईहरुको माझमा लिएर आउने बाचा गर्दछु ।

प्रतिक्रिया दिनुहोस्