खालिङ राई भाषामा एल्बम



खालिङ राई भाषाका बाल गीतहरू संगृहित अडियो एल्बम रोख्तोकोम् (इन्द्रेणी) राजधानीमा सार्वजनिक गरिएको छ। पेन ड्राइभ तथा सीडीमा तयार पारिएको एल्बम संगीतकार शान्तिराम राई, किराँत खालिङ राई उत्थान संघका अध्यक्ष अर्जुन खालिङ राई, माप्य दूधकोशी गाउँपालिकाका प्रमुख बुद्धिकिरण खालिङ राईलगायतले सार्वजनिक गरेका हुन्।

किराँत खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले आयोजना गरेको सांगीतिक समारोहमा विमोचित एल्बमका गीतका झलकहरूसमेत प्रस्तुत गरिएको थियो। अमेरिकामा रहेका संगीतकार पविधन खालिङको शब्द तथा संगीतमा एल्बममा ७ गीत तथा ४ ट्रयाक समावेश छन्। एल्बमका गीतमा प्रियंका खालिङ राई, यशोदा खालिङ राई, प्रतीक खालिङ राई र पविधन खालिङ राईको स्वर रहेको छ। आफ्नो जाति र राष्ट्रको स्वाभिमान र अस्तित्व बचाउने यो युगमा जन्मिएका सम्पूर्ण नानीमा समर्पित भनिएको एल्बममा रोक्तोकोम्, छ्याम्पुलेम्, झुङ् कैल्य, कम्बी उङ् बोलका गीत समावेश छन्।

प्रतिक्रिया दिनुहोस्