सर्वोत्कृष्ट फिल्म तिमीसँग, नायक–नायिका नाजिर र नीता मेरो फस्ट लभ नेपाली लड्कीसँग भयो ः गोविन्दा



रश्मी थापा
आइतबार राजधानीमा आयोजित एलजी सिने सर्कल अवार्ड २०७५ मा तिमीसँग नामक फिल्मले सर्वोत्कृष्ट फिल्म तथा पञ्चायतले सह्रानीय फिल्मको अवार्ड पाएका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड अभिनेता गोविन्दाको विशेष आतिथ्यतमा राष्ट्रिय सभागृहमा सम्पन्न समारोहमा तिमीसँगबाट नाजिर हुसेनलाई सर्वोत्कृष्ट अभिनेता तथा लिलीबिलीबाट प्रदीप खड्कालाई लोकप्रिय अभिनेताको अवार्ड प्रदान गरियो भने पञ्चायतबाट नीता ढुंगानालाई अभिनेतृ र छक्का पञ्जा–२ बाट प्रियंका कार्कीलाई लोकप्रिय अभिनेतृ घोषित गरियो। मंगलम्बाट पुष्प खड्कालाई क्रिटिक्स अवार्ड दिइयो। मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका लेखक तथा निर्देशक किशोर रानालाई नगद ५१ हजार रुपियाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको समारोहमा भुइँमान्छेबाट नवराज बुढाथोकीलाई निर्देशकको अवार्ड प्रदान गरिएको छ। निर्देशक रानाको अनुपस्थितिमा उनको पत्नी गायिका संगीता प्रधानले लाइफटाइम अचिभमेन्ट अवार्ड ग्रहण गरेको कार्यक्रममा तिमीसँगबाट शिशिर राणा, सुशील क्षत्री, सुमन उप्रेती र सागर ओझालाई पटकथा, म यस्तो गीत गाउँछुको भन्छु आज बोलको गीतबाट सुगम पोखरेललाई गायक, २ रुपियाँको कुटुमा कुटुबाट मेलिना राईलाई गायिका, राजनराज शिवाकोटीलाई वर्षको लोकप्रिय गीत र कविराज गहतराजलाई कोरियोग्राफर तथा ऐश्वर्यबाट रमेश उप्रेती र दीपिका प्रसाईंलाई युगल जोडीका साथमा तिमी रोएको पल गीतबाट अर्जुन पोखरेललाई संगीतकारको अवार्ड दिइएको छ।

त्यसै गरी कृबाट चन्द्र पन्तलाई द्वन्द्व निर्देशक र सुरेन्द्र पौडेललाई टे«लर, पिँजडा ब्याक अगेनबाट सिम्पसन तामाङलाई स्टन्ट, भुइँमान्छेबाट विदुर पाण्डेलाई छायांकन निर्देशन, शत्रुगते र मंगलम्बाट मित्र डी गुरुङलाई सम्पादन, माई लभबाट नाओत्सुगु मिकामीलाई भीएफएक्स, लिलीबिलीबाट एलिश कार्कीलाई पाश्र्व संगीत र शत्रुगतेबाट सान थापा र विजय बस्याललाई वर्षको पोस्टर विधाको अवार्ड प्रदान गरिएको थियो। नेपाली सेनाको ब्यान्डले विभिन्न कालखण्डका नेपाली फिल्मी गीतहरूको धुन सुनाएर आरम्भ भएको कार्यक्रममा नृत्य प्रस्तुत गरिएको थियो। नृत्य प्रस्तुति रहेको कार्यक्रममा गम्भीर विष्टले बलिउड अभिनेता गोविन्दाका फिल्मका हिट गीतहरूमा नृत्य प्रस्तुत गर्दा उनी रमाएका थिए।

कार्यक्रममा गोविन्दाले नेपालप्रति मायाँ प्रदर्शन गरे। ‘मेरो फस्ट लभ नेपालसँग भयो। फस्टलभ नेपाली लड्कीसँग भयो। प्रेम र साहसमा नेपालसँग विश्वका कुनै देशले मुकाबिला गर्न सक्दैन’, आफ्नो फिल्मी करियरका प्रसंगहरूसमेत शेयर गर्दै गोविन्दाले भने– ‘मैले कुनै बेला ७५ फिल्म साइन गरें। आमाको आशिर्वाद, सुनीता (पत्नी) र ससुराली (नेपाल) को साथले यो सम्भव भएको हो। म नेपाललाई माया गर्छु।’ गोविन्दाले लामो संस्कृत श्लोक सुनाउँदै अन्त्यमा भने– ‘शम्भो।’

एलजी सिने सर्कल अवार्ड

 

प्रतिक्रिया दिनुहोस्