एसियन च्याम्पियनसिप खेल्ने टोलीको विदाई



सरोज यादव, विराटनगर

भारतको आग्रामा आयोजना हुने ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको विराटनगरमा विदाई गरिएको छ ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले खेलाडी टोलीको विदाई गरे ।

२० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्ने एन्फाका केन्द्रीय सदस्य तथा टोली व्यवस्थापक रुपेश अधिकारीले बताए । एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो ।

भारतको आग्रामा आगामी असोज ४ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । १० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि टोली पूर्ण रुपमा तयार रहेको जानकारी दिए ।

नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नायाँ अनुहार छन् । प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्