पाँच वर्षयता खेलकुद गतिविधि शुन्य



किरन धामी (दार्चुला)
आधा दर्जन राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको दार्चुलामा खेल मैदान नहुदा ५ वर्षयता खेलकुद गतिविधि शुन्य जस्तै छ । २०७० सालमा महाकालीमा आएको विनासकारी बाढीले सदरमुकाम खलंगामा रहेको खुल्ला मञ्च बगाए पछि खेल गतिविधि शुन्य भएको हो । खेल मैदान र प्रशिक्षक अभावमा यहाका सबै खेल गतिविधि प्रभावित बन्न पुगेका छन् ।

विगतदेखि राष्ट्रिय र क्षेत्रीय स्तरका खेलमा जिल्लाको नतिजा राम्रो आउने गरेको भए पनि खेल प्रशिक्षण नपाउदा खेलाडीहरुले आशा गरे अनुरुप उपलब्धी प्राप्त गर्न नसकेको भलिबलका पुर्व राष्ट्रिय खेलाडी भोजराज जोशीले बताए । राष्ट्रिय खेलकुद परिषदले जिल्लालाई करिब आधा दर्जन खेलका प्रशिक्षक राखेको भएपनि खेल मैदान अभावमा नियमित प्रशिक्षण भने हुन सकेको छैन् । ‘खेलाडीले नियमित रुपमा प्रशिक्षण पाए नजिता आफै राम्रै आउथ्योे’ उनले भने । केहि वर्षदेखि जिल्लाले प्रशिक्षक भएकै खेलमा आशा गरे अनुरुपको उपलब्धी हासिल गर्न सकेको छैन् ।

खेल मैदानको अभावमा सबै किसिमका खेलहरुको प्रशिक्षण गराउन नसकिएको प्रशिक्षकहरुले बताएका छन् । परिषदबाट कब्बडी, कराते र ह्यान्डबल खेलका प्रशिक्षक नियुक्त गरिएको छ । जिल्लाले विभिन्न समयमा हुने राष्ट्रिय प्रतियोगितामा फुटबल, क्रिकेट, कराते, भलिबल, एथ्लेटिक्स, ह्यान्डबल, ब्याटमिण्टन लगायत १० खेलमा सहभागिता जनाउदै आएको छ । खेल मैदान तथा खेल सामग्रीको अभाव, सबै खेलका प्रशिक्षक नहुनुले खेलाडीहरुलाई नियमित प्रशिक्षण गराउन नसकिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

लामो समयदेखि राष्ट्रिय प्रतियोगितामा जिल्लाबाट विभिन्न खेलका खेलाडीहरुले भाग लिन्छन्, तर प्रशिक्षणको अभावमा पदक प्राप्त गर्न सकिरहेका छैनन् । जिल्लाले करातेको अन्तर्राष्ट्रिय रेफ्री समेत उत्पादन गरेको छ । खेल मैदान र सामग्री अभावमा नियमित खेलाडीहरुलाई प्रशिक्षण दिन सकेको छैन् । जिल्लामा भलिबल, त्रिकेट लगायत एथलेटिक्स खेलको क्रेज बढी भएपनि प्रशिक्षकको अभाव भएको भलिबलका पुर्व राष्ट्रिय खेलाडी जोशीको भनाई छ । २०७० सालमा बगाएको खुल्ला मञ्च अहिले सम्म पुर्नःनिर्माण हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्