लिगको पुरस्कार रकममा कटौती



नेपाल समाचारपत्र, काठमाडौं
करिब ४ वर्षदेखि रोकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुचारु हुने आईतबार पत्रकार सम्मेलनमा एन्फाले जनाएको छ ।
यस पटक रेलिगेसन नहुने गरी संचालन गर्ने लिग असोज १३ गतेदेखि पुषसम्म संचालन हुनेछ । खेलहरु राउन्ड रोविन लिग प्रणाली अनुसार खेलाइनेछ ।

दशरथ रंगशाला पुनःनिमार्णमा रहेकोले खेलहरु एन्फाको सातदोबाटोको मैदान, हल्चोकको एपीएफ रंगशालामा खेलाइने एन्फाले जनायो । यसका लागि करिब ५ करोड ८० लाख रुपियाँ खर्च हुने पनि जानकारी गराएको छ ।

एन्फाले जनाएअनुसार फिफाले विभिन्न कार्यक्रमका लागि एन्फालाई ६ लाख ८८ हजार अमेरिकी डलर सहयाग प्राप्त भएको छ । सोही सहयोगबाट केही रकम ए डिभिजन लिग संचालन गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । यस्तै लिगमा १४ टोली सहभागिता जनाउनेमा प्रत्येक टोलीका लागि तयारी गर्न २० लाख रकम प्रदान गर्ने पनि शेर्पाले स्पष्ट पारेका थिए ।

यसैगरी लिगको प्रत्येक खेलका विजेतालाई ५० हजार नगद प्रोत्साहन स्वरुप दिइनेछ । यदि खेल बराबरी भएका दुबै टोलीलाई समान १५÷१५ हजार प्रदान गर्नेछ । खेलका म्यान अफ द म्याच घोषित खेलाडीले १० हजार नगद पाउने व्यवस्था पनि गरिएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेहरु फरवार्ड, मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक र गोलकिपरलाई जनही एक–एक मोटरसाइकल दिइनेछ । यस लिग विजेता टोलीले आगामी वर्ष २०१९ मा हुने एएफसी एसियन कपका लागि छनोट हुनेछ ।

२५ लाख घटेको
२०७० सालमा विजेता बनेको टोलीले ७५ लाख नगद पुरस्कार प्राप्त गरेको थियो । यसपटक भने विजेता बन्ने टोलीले २५ लाख कम अर्थात ५० लाख नगद पुरस्कारमै चित्त बुझाउनु पर्ने भएको छ । दोस्रो हुने टोलीलाई ३५ लाख दिइनेछ भने तेस्रो हुने टोलीलाई २५ लाख नगद प्रदान गरिनेछ । यसैगरी चौथोदेखि छैटो स्थानसम्म रहने टोलीले क्रमशः १५ लाख, ७ लाख र ५ लाख नगद हासिल गर्नेछन् ।

रेलिगेसन नभएपनि पुछारलाई घाटा
१४ टोलीले सहभागिता जनाउने सो लिगमा १३औं र १४औं स्थानमा रहेका टोलीका लागि घाटा हुनेछ । रेलिगेसन विना संचालन हुने लिगको १३औं स्थानमा रहेको टोलीलाई अर्को वर्षका लागि १ अंक घटाउनेछ । सो टोलीलाई दिइने सहयोग रकममा २ लाख पनि कटाउनेछ ।

त्यस्तै अन्तिम स्थान प्राप्त टोलीलाई अर्को वर्षका लागि २ अंक घटाउनेछ र ३ लाख सहयोग रकम पनि कटा गरिनेछ । यसैगरी फेयर प्ले घोषित टोलीलाई भने १ लाख नगद पुरस्कारले सम्मानित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्