एक्सपायर नारा



‘सत्य सेवा सुरक्षणम्’ यो नाराले नेपाल प्रहरी र प्रहरीको सेवा स्मरण गराउँछ । तर यो नारा पनि डेट एक्सपायर भएछ कि क्या हो अहिले त प्रहरी सेवा पत्याउनै गाह्रो छ भन्या । सत्य ढाकछोप गर्ने र घटना तोडमोड गर्ने सेवा मौलाउन थाल्या छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको अनुसन्धानमा जुट्या प्रहरीको कार्यशैली देख्दा पुरानो नाराको डेट एक्सपायर भएको हो कि भन्ने धरहरालाई लाग्या छ । पन्तको हत्या भएको ५० दिन बितिसक्दा पनि घटनामा ‘दुधको दुध पानीको पानी’ छुट्याउन नसकेपछि प्रहरीलाई कसरी विश्वास गर्नु ?

२०१२ सालको त्यो नारा मात्रै होइन, ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको सेवा’ जस्ता पछिल्ला नारा पनि झुर भइसक्या छन् । मुस्कानसहितको सेवा भनेर के गर्नु, धेरै ठाउँमा सेवाग्राहीले ओठे जवाफ पाउने भएसी । कञ्चनपुर घटनामा मात्रै आधा दर्जन प्रहरी निलम्बनमा परेपछि अनि कसरी पत्याउनु ‘प्रहरी मेरो साथी’ भनेर ।

आफ्ना नारा फ्लप भएकोबारे प्रहरी मुख्यालय र गृह मन्त्रालय जानकार छ कि छैन होला ? बरु नारा समय सापेक्ष बनाउन गृह मन्त्रालयले कुनै आयोग गठन गरे हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्