मुसहर बस्तीमा राज्य पुगेन



मुसहर समुदायको बस्तीमा अहिले निकै समस्या छ । अहिले उनीहरु छाप्रो हालेर वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएका छन् । मुसहर समुदायका सामूहिक पीडा बिहान–बेलुकीको हातमुख जोर्नु नै हो । राज्यको सीमान्तकृत समुदायका मुसहरको पुस्तौनी पेसा माछा मार्ने हो । त्यही माछा बिक्री गरेर जीविका चलाउनु हो । देशमा राजनीतिक परिवर्तन भयो, थुप्रै नेता मन्त्री, प्रधानमन्त्री भए, तर उनीहरुको आर्थिक, सामाजिक र शैक्षिक प्रगतिमा सुधार आउन सकेको छैन ।

चरम गरिबीमा बाँच्दै आएका मुसहरको एउटै विकल्प नदीखोलामा माछा मारेर गुजारा चलाउनु हो । तर, दुई वर्षअघिदेखि चितवन निकुञ्जले माछा मार्न प्रतिबन्ध लगाएपछि उनीहरुको पेसामात्रै संकटमा परेको छैन, उनीहरुको चुल्होमा आगो नबल्ने स्थिति सृजना भएको छ । गरिबीले परिवारमा छोरा–बुहारी र आमा–बुबा सानो झुपडीमा अटाउनुपर्ने नियति छ ।

चिसो भुइँमा पराल ओछ्याएर जेनतेन प्राण धानेका मुसहर बस्तीका समुदायका लागि निकुञ्जले जीविका खोसेको छ । राज्यबाट पाउनुपर्ने न्यूनतम अधिकारबाट समेत उनीहरु वञ्चित छन् । चरम गरिबीमा बाँचेका अधिकांश मुसहरसँग नागरिकता छैन, जसका कारण बालबालिका जन्मदर्ताबाट वञ्चित छन् । यो सुकुम्बासी बस्तीमा राज्यको उपस्थिति छैन । राज्यले यस क्षेत्रमा ध्यान दिनु जरुरी देखिन्छ ।

– मनोज कार्की, सल्लाघारी भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्