आउला त पाँच बर्षमा चिनिया रेल



चिरञ्जीवी मास्के
ल्हासा, चीन । चिनसंग रेलमार्ग जोडिने विषय नेपालीकालागि मजाकको बिषय बनिरहेको बेला चिनिया अधिकारीहरुले भने यसलाई उच्च प्राथामिकतामा राखेर काम भै रहेको बताएका छन् ।

तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले नेपालसंग रेलमार्ग जोड्न चीन सरकारले उच्च प्राथामिकताका साथ काम गरिरहेकाले ५ बर्ष भित्र काठमाडौंमा रेल पुग्ने बताउनुभएको छ ।

ल्हासामा सम्पन्न चौथो नेपाल, चीन– तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी आउनु भएका उपाध्यक्ष चु ले प्राकृतिक रुपमा केही अप्ठेराहरु हरेपनि केरुङ हुदै काठमाडौँसम्म रेल पु¥याउन ५ बर्ष लाग्ने बताउनुभयो ।

उपाध्यक्ष चु ले नेपालले चीनसंगको सिमासम्म सडक सञ्जाललाई विस्तार गर्नुपर्ने उल्लेख गर्दै सिगात्सेको रेल केरुङ हुदै काठमाडौँ पु¥याउन उच्च प्राथामिकताका साथ काम गरिरहेको बताउनुभयो । उहां भन्नुभयो – तिब्बतले नेपाल हुदै दक्षिण एसियासम्म रेलमार्ग जोड्न चाहेको छ त्यसैले काठमाडौँसम्म तत्कालै रेल पु¥याउने कुरा हाम्रो उच्च प्राथामीकतामा छ ।

चीन सरकारले नेपाल हुदै भारत, पाकिस्तान, भुटान जस्ता हिमालसंग जोडिएको मुलुकमा बेल्ट एण्ड रोड (बिआरआई) को अवधारणा अघि सारेको छ ।

जुन अवधारणा अनुसार चीनले मुख्य त भारत, पाकिस्तान जस्ता ठूला मुलुकसंग आफ्नो व्यापार विस्तार गर्न चाही रहेको छ । तिब्बत जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष चुले नेपाल हुदै दक्षिण एसियासम्म रेलमार्ग जोड्न चाहेको अभिव्यक्ति दिएबाट पनि चीन नेपालको बाटोहुदै भारत पाकिस्तान जस्ता ठूला मुलुकमा व्यापार विस्तारमा सक्रिय रहेको बुझ्न सकिन्छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणको क्रममा रेलमार्ग जोड्ने कुरालाई प्रमुख प्राथामिकताका साथ उठाएका थिए । नेपाल–चीन सम्बन्धको बारेमा जानकारहरुका अनुसार चिनले नेपाली (शासक) नेताहरुमा तत्कालीन राजा महेन्द्र पछि सबै भन्दा बढी विश्वास प्रधानमन्त्री केपी ओलीलाई गरेकोले पनि नेपालसंग रेलमार्ग जोड्ने विषय चीनको मुख्य प्राथामिकतामा रहेको छ ।

रसुवासंगको सिमाना केरुङ नाकालाई प्राथामिकता दिएको चीनले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनको विषयमा भने स्पष्ट समय सिमा तोक्न सकेको छैन् ।

तातोपानी नाका पनि छिट्टै सञ्चालन गर्ने चिनिया अधिकारीहरुको भनाई रहेको भएपनि कति महिना या बर्ष भन्नेबारे भने उनीहरुले स्पष्ट जवाफ दिएका छैनन् ।

तातोपानी नाका सञ्चालनको विषय दीर्घकालिन योजना भएको र काम द्रुत गतिमा अघि बढी रहेको उपाध्यक्ष चु ले बताउनुभयो । चौथो नेपाल चिन तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागि हुन तिब्बत पुग्नु भएका सभामुख कृष्णबहादुर महराले भूकम्प पछि क्षतिग्रस्त भएको मितेरी पुलको सिलान्यास भने ल्हासाबाटै गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्