निर्मला पन्त हत्या प्रकरण: छानवीन गर्न अर्को समिति गठन



नेपाल समाचारपत्र, काठमाडौं
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ । सुरक्षा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरु बस्न्यातको संयोजकत्वमा समिति बनाएको हो । यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा बनेको समितिलाई समेत गाभेर डीआईजी बस्न्यातको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले प्रहरीको लापरबाहीबारे प्रतिवेदन बुझाएको एक दिनपछि समग्र घटनाको अनुसन्धान गर्न डीआईजीको संयोजकत्वमा समिति बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गृह मन्त्रालयवाट प्रहरीमाथि अनुसन्धान गर्न समिति बनाएर घटनाको समेत अनुसन्धान गर्ने जिम्मेवारी पाएको थियो ।

समितिलाई घटना र प्रहरी दुवैको अनुसन्धान गर्ने अधिकार दिइएको छ । यो समितिले शुरूमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको छानविन र अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले जानकारी दिनुभयो ।

यसैबीच, निर्मला प्रकरणमा विवादास्पद प्रहरीहरुमाथि पोलिग्राफ टेस्ट हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ लिने निर्णयमा पुगेको हो । जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको अनुसन्धानमा शंका पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान शुरु गर्न निर्देशन दिएको थियो ।

भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिस अनुसार डीएसपी ज्ञानबहादुर सेठी, अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्बनमा परेका थिए ।

यस्तै सरोकारवाला निकायले दोषीलाई जसरी भए पनि सरकारले पत्ता लगाउन कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले निर्मला पन्तको घटनामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कर्णले प्रारम्भिक अनुसन्धानमै प्रहरीले हेलचेक्रयाइँ गरेको थाहा हुँदाहुँदै पनि कारबाही नगर्नुले प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गर्नुभयो ।

नेकपाका सांसद डा. दीपकप्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले यस घटनाबारे प्रधानमन्त्रीलाई गलत ‘बिफ्रिङ’ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘घटना भएको आज ५३ दिन भइसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीको अनुसन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुसन्धान शुरु गर्नुपर्छ ।’

यस्तै, बलात्कारपछि हत्याको सिकार भएकी निर्मलाको न्यायका लागि भन्दै आइतबार धनगढी र महेन्द्रनगरमा जनता सडकमा उत्रिएका छन् । १३ वर्षीया निर्मला पन्तको बलत्कारपछि हत्या भएको ५३औं दिन बित्दा पनि दोषी पहिचानमा सरकारले बेवास्ता गरेको भन्दै सडकमा उत्रिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्