अमेरिकाको गोल्डेन डोरमा नेपालको सेलफोन



प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको छोटो फिल्म सेलफोन अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिबल अफ न्युजर्सीका लागि छानिएको छ। आगामी सेप्टेम्बर २० देखि हुने ४ दिने फेस्टिबलको फेमिली ड्रामा विधाअन्तर्गत सेलफोन छानिएको यसका निर्देशक तथा पत्रकार फूलमान बलले जानकारी दिए।

१५ मिनेटको सेलफोनमा ढ्यांग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको संघर्ष समेटिएको छ। बजार र प्रविधिका कारण परम्परागत मूल्यमान्यतामाथि आइलागेको चुनौती प्रस्तुत गरिएको छोटो फिल्मले केही वर्षअघि राजधानीमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिबलमा अवार्ड चुमेको थियो। त्यस्तै चीन, बंगलादेश, अमेरिका, कोलम्बियालगायतका मुलुकका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको अफिसियल सेलेक्सनमा परिसकेको छ।

ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायत निर्माता रहेको सेलफोनमा उमेश तामाङ, शान्ति वाइवा, प्रेम लोप्चनलगायतले अभिनय गरेका छन्। ‘संस्कृति र आधुनिकताबीचको संघर्ष तेस्रो विश्वमात्रै हैन, संसारभर नै छ’, निर्माता ङिमा पाख्रिनले भने– ‘सेलफोनले भने तामाङ समुदायको समस्या उठाएको छ।’ फेस्टिबलको तेस्रो दिन सेप्टेम्बर २२ गते सेलफोन प्रदर्शन हुने फेस्टिबलको वेबसाइटमा उल्लेख छ। त्यस्तै फेस्टिबलको म्युजिक भिडियो विधामा नेपालबाटै गायक रामकृष्ण ढकालको अचेल पाइलैपिच्छे बोलको गीत छानिएको छ।

प्रतिक्रिया दिनुहोस्