गोविन्दा ससुराली देशमा



बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। नेपाली मुलकी सुनिता आहुजाका यी पति व्यक्तिगतरूपका साथै फिल्म छायांकनका लागि काठमाडौं आउजाउ गरिरहन्छन् नै। यसपालि भने उनी निम्तो मान्न नेपाल आएका हुन्। गोविन्दा आइतबार राजधानीमा हुने एलजी सिने सर्कल अवार्डको प्रमुख अतिथिको निम्तो मान्न शनिबार बिहान नेपाल आएका हुन्।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ गोविन्दाले भीभीआईपी लाउन्जमा सञ्चारकर्मीका साथ साक्षात्कार गरे। छोरी टीनाका साथ काठमाडौं आएका गोविन्दाले साक्षात्कारमा जानी नजानी केही नेपाली शब्द बोल्दै नेपालबाट आफूले धेरै नै माया पाएको बताए। ‘नेपालबाट मलाई जति पनि माया मिलेको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु। यसपटक म अवार्ड समारोहका लागि आएको छु’, गोविन्दाले भने– ‘कला र कलाकारलाई जनताले दिने माया विशेष हुने गर्छ। मैले नेपालबाट सधैं त्यो विशेष माया पाएको छु। म सबैलाई प्रेम गर्छु। नेपाललाई प्रेम गर्छु।’ गोविन्दाको भनाइ थियो– ‘नेपाल साहस र प्रेमको धर्ती हो।’ नेपाली भाषा बोल्ने प्रयास गर्दै उनले भने– ‘अली अली आउँछ। कस्तो छ?’

अवार्ड समारोहका लागि ३ दिन बस्ने गरेर आएका गोविन्दाले पशुपतिको दर्शन गर्ने र चन्द्रागिरि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्