काठमाडौं जेभियर र चाँदबागलाई उपाधि



काठमाडौं, (नेस)
काठमाडौं जेभियर्स र चाँदबागले नवौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । काठमाडौं जेभियर्स ब्वाइज तथा चाँदबाग गल्र्समा च्याम्पियन बने । दुवैले फाइनलमा हेम्सलाई पराजित गरे ।

प्याब्सन मध्य क्षेत्रीय कमिटीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा काठमाडौं जेभियर्सले डिफेन्डिङ च्याम्पियन हेम्सलाई ५८–४९ ले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । काठमाडौं जेभियर्सको जितमा सन्जिव मगरले २५ अंक योगदान गरे । सरोज कार्कीको ३९ अंक सहयोगमा अल्बर्टले मार्टियर्सलाई ६७–५२ ले हराउदै तेश्रो भयो ।

अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा चाँदबागले हेम्सलाई २९–१८ ले पाखा लगाउदै लगातार तेश्रो पटक च्याम्पियन बन्यो । चाँदबागकी अदिती गुरुङले १३ स्कोर गरिन् । एसियनले एआईएलाई ३१–११ ले सहजै पन्छ्याउदै तेश्रो भयो । ब्वाइज र गल्र्समा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्जिव र अदिती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा हेम्सका कौशल शर्मा र गल्र्समा एसियनकी जेशिका अधिकारी उदीयमान खेलाडी घोषित भए ।

ब्वाइजमा अल्बर्टका सरोज कार्की र गल्र्समा हेम्सकी सुनिता सुनुवार सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर सरोजले १ सय ६९ तथा सुनिताले ६३ अंक जोडे । ब्वाइजमा मार्टियर्स र गल्र्समा एआईएले अनुशासित टिमको उपाधि हात पारे ।

भदौ २३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २६ र गल्र्समा १६ गरी ४० टिम सहभागी थिए । प्रतियोगिताको दसौं संस्करण शंखमूलस्थित एआईए स्कुलमा हुने आयोजक कमिटीका अध्यक्ष गगनसिंह ऐरले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्