लिभरपुलको सत प्रतिशत नतिजा



लन्डन, (एजेन्सी)
लिभरपुलले २८ वर्षयता प्रिमियर लिगमा शुरुवातको पाँचै खेल जितेर १ सय प्रतिशतको नतिजा आत्मसात गरेको छ ।

शनिबार भएको खेलमा लिभरपुलले टोटनह्यामलाई २–१ ले हराएको हो । यर्जेन क्लोपको टोलीलाई जित दिलाउन पहिलो हाफमा जर्जिनियो विनाल्डमले गोल गरे । त्यस्तै दोस्रो हाफमा रोबेर्टो फर्मिनोले गोल थपेका थिए । एक गोल अन्त्यमा इरिक लामेलाले गोल गर्न सफल भए पनि सो टोटनह्यामका लागि सान्त्वना साबित भयो । यसपछि बराबरी गोल गर्ने मौका गुमाउँदा पनि लिभरपुलको लागि जित संभव भएको थियो ।

रोमाबाट महगो रकम (६७ मिलियन पाउन्ड) मा गोलकिपर एलीसनलाई भित्रयाएदेखि लिभरपुलले उपाधि जित्ने चाहना राखेको छ । यसमा हाल ५ खेलमा शतप्रतिशत नतिजा पनि निकालिसकेको छ । अन्य खेलाडीमा नेबी केइटा, फाबिन्हो र जेर्डान साकीरी र भर्जिल भान डिएकलाई पनि क्लबले आबद्ध गरेपछि टोली बलियो देखिएको कोच क्लोपले प्रतिक्रिया दिएका छन् ।

यो टोटनह्यामको २०१५–१६ सिजनपछि लगातार दुई खेलमा हारेको पहिलो पटक थियो । यसअघि वाटफोर्डसँग अग्रता लिएर पनि टोलीले हारेको थियो । गत सिजनमा यसै वेम्बली रंगशालामा समेत टोटनह्यामले लिभरपुललाई ४–१ ले लज्जित बनाएको थियो । यसपटक टोलीले लिभरपुलसँग लज्जित हुनु परेको थियो ।

लिभरपुलको एट्याकमा फर्मिनो, सडियो माने र मोहम्मद सालाह रहेका छन् । उनीहरुलाई गत सिजनमा एट्याकको जिम्मा दिएदेखि लिभरपुलले जित हासिल गर्दै आएको छ । क्लोपको यो रणनीतिको असर टोटनह्यामको डिफेन्समाथि शुरुदेखि दवाव बनाउन सहज पनि भएको थियो । तर गोल ३८औं मिनेटमा आएको थियो त्यो पनि आश्चर्यतरिकाले ।

मिल्नरले प्रहार गरेको कर्नर बललाई भर्मले पन्च गरे । डायरले त्यही बललाई हेड गरे । त्यो बल पनि क्लियर भयो तर विनाल्डमले हेड प्रहार गरेको बल गोलकिपरले भित्रैबाट क्लियर गरेका थिए । रेफ्री माइकल ओलिभरले यसलाई गोलको मान्यता दिएपछि लिभरपुल खेलमा १–० ले अघि बढयो । यो विनाल्डमको पहिलो अवे गोल थियो ।

फर्मिनोले ५४औं मिनेटमा गोल थपेर लिभरपुलको अग्रता दोब्बर पारेका थिए । उनको यो गोलसँगै टोटनह्यामका लागि खेलमा फर्कने आसा पनि कठिन बनेको थियो । सानेले क्रस गरेको बललाई भेर्टेगन र गोलकिपर भर्मले क्लियर गर्न सकेनन् । फर्मिनोले सोही बललाई क्लोज रेन्जबाट प्रहार गर्दै जाली चुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्