करण र हरि सम्मानित



काठमाडौं, (नेस)
क्रिकेटर करण केसी र उदीयमान खेलाडी हरि चौहान क्षेत्रीलाई स्व. प्रमोद बज्राचार्य एनसीसीएस राष्ट्रिय सेवा सम्मानअन्तर्गत शनिबार नगदसहित सम्मान गरिएको छ ।

नेपाली क्रिकेट समर्थक समाज (एनसीसीएस) द्वारा आयोजित उक्त कार्यक्रममा करणलाई १ लाख र हरिलाई २५ हजार नगदसहित सम्मान गरिएको हो । एनसीसीएसका तत्कालीन कोषाध्यक्ष प्रमोद बज्राचार्यको ४ महिना अगाडि ब्रेन ह्यामरेजको कारण युवा अवस्थामै असामयिक निधन भएको थियो । संस्थाका अध्यक्ष भानु सिग्देल र स्व. प्रमोदकी दिदी सन्जु बज्राचार्यले क्रिकेटको विकास र विस्तारित गर्न र नेपाली क्रिकेट समर्थकलाई एकत्रित गर्ने उद्देश्यले संस्था खोलिएको जनाए ।

करणले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत डिभिजन २ मा भएको खेलमा अदभुत र आश्चर्यजनक प्रदर्शन गरेको बलमा नेपाल डिभिजन एकमा पुगेको थियो । क्यानडाविरुद्ध हार्न लागेको खेल जिताएका करणलाई सम्मान गरिएको आयोजकले जनायो । संस्थाले आफना सदस्यहरुमार्फत् सहयोग रकम उठाएर क्रिकेटरलाई रु १ लाख प्रदान गरेर विशेष सम्मान गरेको हो ।

यसैगरी उदीयमान खेलाडीको रुपमा रहेका हरिले जेठमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यो सम्मानको लागि २५ हजार रकम छुट्याएको थियो । यसमा वर्षमा आयोजित प्रतियोगितामा महिला वा पुरुषमध्ये उत्कृष्ट हुने उदीयमान खेलाडीलाई सम्मान गरिने आयोजकले जनायो ।

प्रतिक्रिया दिनुहोस्