खुइलिने र खुइल्याइने संस्कृति



-मुक्तिबन्धु
पक्का रंग खुइलिँदैन । कच्चा रंग धेरै दिन अडिँदैन । हामीकहाँ राजनीतिमा आफैं खुइलिने कच्चा रंगका राजनेताहरु धेरै भएछन् । कतिलाई मिडियाले मिची–मिची पखालेर खुइल्याइदिन्छ । असत्य र अनुचितको अवलम्बनले कति आफैं खुइलिन्छन् । यस्तै स्थिति रहने हो भने हामीकहाँ संकटका बेला आमजनताको विश्वास समेट्न सक्ने व्यक्तित्व बाँकी नरहन पनि सक्छ ।

गहन जिम्मेवारीमा रहेका व्यक्तिले गहन जिम्मेवारीका साथ बोलुन् भन्ने जनचाहना बेठीक होइन । जथाभावी बोल्दा बोलीको मोलतोल घट्दै जान्छ । निर्णायक जिम्मेवारीमा रहेकाहरु सत्य र न्यायका पक्षमा अडिग रहुन् भन्ने जनचाहना पनि बेठीक होइन ।

जिम्मेवारहरु सत्य र न्यायका पक्षमा अडिग नरहँदा र रक्षक भनिएकाहरु स्वयम् भक्षक भइदिँदा आततायीहरु सरक्क उम्कन्छन् निरपराधहरु दण्डित बनाइन पुग्छन् । आफू मात्र बनिरहूँ र अरु कोही अगाडि नबढोस् भन्ने सोच राखेर सहयात्रीलाई बिरालो बनाउँदै बन्द कोठामा दण्डित गर्न खोज्ने प्रवृत्ति पनि राम्रो होइन । अरु बाटो नपाएपछि बिरालोले आक्रामकको घाँटी समात्छ । नेपालको राजनीतिमा यस्ता उदाहरणहरु बग्रेल्ती छन् ।

हामीकहाँ राजनीतिमा आफैं खुइलिने कच्चा रंगका राजनेताहरु धेरै भएछन् । कतिलाई मिडियाले मिची–मिची पखालेर खुइल्याइदिन्छ । असत्य र अनुचितको अवलम्बनले कति आफैं खुइलिन्छन् । यस्तै स्थिति रहने हो भने हामीकहाँ संकटका बेला आमजनताको विश्वास समेट्न सक्ने व्यक्तित्व बाँकी नरहन पनि सक्छ ।

नेपालीका टाउकामा टेक्दै विदेशीका खुट्टामा लम्पसार पर्ने विलक्षण संस्कृति नेताहरुमा झाङ्गिएको देखेर नेपालको स्वाभिमान लज्जित छ । दोषीहरुले आफु उम्कनका लागि निर्दोषहरुलाई दोषी सावित गर्न मच्चएका दानवीय कसरतका बर्बरतामय, वीभत्स घटनावली देखेर न्याय नैतिकता त्यत्तिकै लज्जित छ । सत्तासीनहरुका विविध विरुदावलीयुक्त घटनावली देखेर नेपालका हिमाल पहाड तराइ सबै स्तब्ध रोदन रोएकाछन् । यसैको लागि नेपालमा गणतन्त्र ल्याइएको थियोे त ? प्रश्न आज नेपालमा यत्र तत्र सर्वत्र गुन्जायमान छ ।

नेपालका राजनेताहरु आफुलाई टाउकोमा बोक्ने नेपाली जनताको स्नेह सद्भाव र न्यायनिष्ठतामाथि भर पर्न किन सक्दैनन् ? आफ्ना कुनै गुनासा छन् भने नेपाली जनतासँगै एक एक गुनासो पोख्न किन सक्दैनन् ? नेपाली जनतासँगै सहयोग माग्न किन सक्दैनन् ? नेपाली जनतासँग भोट मागेर भ¥याङ् उक्लेका नेताहरु नेपाली जनतासँग बसेर आपसी हितका कुरा गर्न नसक्ने हुनुमा सक्कली कारण के छ ? संंंंंंंंंंत्तागत उँचाइ ? त्यति अग्ला भइसके नेताहरु ? यति अग्ला राजनेताहरुलाई दिल्लीश्वरका मन्दिर मन्दिरमा पुगेर दण्डवत् प्रणाम सहितको प्रार्र्थना गरिहिँड्दा ढाड किन दुख्दैन ? गर्धन किन दुख्दैन ? जनताको स्वाभिमान किन दुख्दैन ?

हाम्रा राजनेताहरुको दौडधूप देखेर, र दयनीय स्तरको निरीहता देखेर हामी जनता दुःखित र थकित छौं । हाम्रा पूर्वजहरु भन्थे, मनोरथानांमगति र्नविद्यते अर्थात् मान्छेका महत्वाकाङ्क्षाको सीमा छैन । जति भए पनि पुग्दैन मान्छेलाई । हामीमध्येका केही साथीहरु भन्नुहुन्छ, महत्वाकाङ्क्षाको निरीहता होइन, निर्लज्जता हो । नेताहरुका निर्लज्ज चर्तिकला देखेर हामी आश्चर्यचकित छौं । हाम्रा नेताहरुलाई उत्थानभन्दा पतन मिठो किन लाग्छ ?

यहाँनिर पनि मलाई पन्चतन्त्रको एउटा कथाप्रसङ्गको सम्झना आउँछ । ‘सन्जोगबस सिंहका डमरुसँगै सिँहका जमातबीच हुर्कन पुगेको एउटा हँुडारको बच्चा जव डमरुहरुसँगै लागेर हात्तीको सिकारमा अघि बढ्न सक्दैन । विभिन्न तर्कदिन थाल्छ । त्यति बेला एउटा सिंहले भन्छ, “शूरोसि कृतविद्योसि दर्शनीयोसि पुत्रक, यस्मिन्कुले त्वमुत्पन्नः गजस्तत्र न हन्यत,े अर्थात् बावु, तिमी सूरोछौ, बाठो छौ, राम्रो पनि देखिन्छौ तर जुन कुल वंशमा तिमी जन्म्यौ त्यस वंशमा हात्तीको सिकार गर्ने परम्परा नै छैन ।

त्यो गुण तिम्रो रगत्मै छैन ।” ठीक त्यस्तै हाम्रा राजनेताहरुको रगत्मा पनि आफ्ना देशका जनताको क्षमतामाथि भर परेर राष्ट्र, राष्ट्रियताको सर्वाङ्गीण प्रगति र विकासमा अघि बढ्ने गुण वर्गानुगत छैन । यो गुण यी नेताहरुको वर्गीय प्रकृतिमै छैन । हामी जनताले मुसुरे कटुसका बोटमा फुजी स्याउ फलाउने सपना देख्यौँँ । हाम्रा संसदीय वामवीरहरु सत्ताका ढ्वाङ्हरुमा छिरेपछि हामवीर मात्र बाँकी रहन्छन् भन्ने पूर्वानुमान हामीले गरेनौं । गल्ती हामी जनताकैै छ । नेताहरुको वर्गचरित्र नचिनेरै सपना सुम्पनुमा गल्ती हामी जनताको पनि छ ।

सत्तासीन राजनेताहरु र हामी सर्वसाधारण जनताबीच प्रत्यक्ष सम्पर्क सम्बाद छैन । सूचनाको विश्वसनीय आदानप्रदान छैन । हाम्राबीच जानकारीको माध्यमका रुपमा रहेका सूचनाउद्योगहरु सवै जनपक्षीय र विश्वसनीय मात्र छैनन् । जोगी हुन पनि आफ्नो विक्रेयात्मकता बुझेर मात्र टुप्पी काट्नुपर्ने निर्मम बजार संस्कृतिको यस युगमा सूचनाव्यवसायी ठुला साना संस्थाहरु जो छन् ती देश र जनताका हिताकाङ्क्षी मात्र पनि छैनन् । देश र जनताको हित भनेर भोकभोकै दगुर्न तम्सने मात्र छैनन् । बजारले दिने भोज्य पेय र सुखसुविधाका साधनप्रति बढी नै तानिने उपभोक्ता मनका पनि छन् ।

कुनै कालखण्डमा तत्कालीन एमाले नेताहरु भन्थे, हामी जोगी हुन राजनीतिमा आएका होइनौं । आजका सन्चार व्यवसायीे संस्थाका सन्चालक र कामदारहरु पनि जोगी बन्न अघि सरेकाहरु होइनन् । आजको भूमण्डलीय अर्थसंस्कृतिमा के कस्ता सामान उत्पादन र वितरणबाट बढी नाफा हुन्छ व्याहारिक रुपमा र शास्त्रीय रुपमा समेत व्यवसायीहरुले आवश्यक जानकारी बटुलेका हुन्छन् ।

हिजो अस्तिको जस्तो देश र जनताका सपनाप्रति समर्पित पत्रकारिता चल्न सजिलो छैन । व्यावसायिक प्रतिस्पर्धाको पत्रकारिता छ । कुन सूचना कुन उद्देश्यका लागि कहाँ कसको क्रियाशीलतामा उत्पादन हुन्छ त्यो अन्तर्य सर्वसाधारण उपभोक्ताले बुझ्दैनन् । बुझ्नै सक्दैनन् । कहाँ कसलाई खुइल्याउनु छ कसलाई उजिल्याउनु छ यसको निर्णय मिडिया उद्योगले आफ्नो उच्चस्तरीय योजनाकक्षमा गर्छ ।

उपभोक्ताकोमा त तैयार सामग्री मात्र आइपुग्छ । यथार्थ केलाउन देशीविदेशी दर्जनौं उत्पादन बटुल्नु पर्छ । भिडाएर विवेक विश्लेषणसाथ गहन अध्ययन गर्नुपर्छ । यसका लागि पर्याप्त साधन र समय चाहिन्छ । दिनरात श्रममा खटेर बललबल्ल चुलो बाल्नुपनर्,े परिवार पाल्नुपर्ने हैसियतका हामी सर्वसाधारण जनतासँग त्यस्तो विश्लेषणात्मक अध्ययन निमित्त न समय छ न साधन । यसैले बजारका खाद्यपदार्थले शरीर रुग्ण बनेजस्तै यदा कदा बजारका सूचितपदार्थले हाम्रो जानकारी रुग्ण बन्न पनि सक्छ । पक्ष यो पनि छ ।

आम जनताका लागि सुलभ शिक्षा र स्वास्थ्यको अभाव, जनताले दिनदिनै हिँड्ने सडकहरुको विपत्ग्रस्तता, सीमा क्षेत्रमा छिमेकीबाट भोगाइने भूअतिक्रमण, लुटपाट र थरीथरीका दमन, अन्याय, अत्याचार, जनताले छाक छाकमा बेहोरिने आधापेट, दुःखीपेट र भोकोपेट, सधैँजसो जनजीवनकोे निद्रा बिथोल्ने र बेला बेला ज्यानै लिने बाढी पहिरो, मुलुकका युवाशक्तिलाई मायाममताको दाम्पत्य, बालक छोराछोरी र बुढा बाआमा छोडेर खाडीतिर भास्सिन वाध्य बनाउने भयावह बेरोजगारी, बालहिंसा, महिलाहिंंंसा, न्यायहीनता, दण्डहीनता, यी त हाम्रा दैनन्दिन यथार्थ हुन् ।

यसमा सकारात्मक र उत्साहवर्धक परिवर्तन पटक्कै नभेटिनुको तात्पर्य पन्चायतपछिका तीस वर्षमा पनि हाम्रो मुलुकको राजनीतिले हामी भूमिस्थ जनताका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यगत र शान्ति सुरक्षाक्षेत्रको प्रगतिमूखी रुपान्तरणका पक्षमा सार्थक रुपमा सिन्को भाँच्न नसक्नु नै हो । आज आएर हामीले यस दुःखद यथार्थको अनुभूतिलाई के गर्ने ? मोदी र ओलीका भेटघाटलीला, प्रचण्डका हस्तिनापुर यात्रावर्णन, बडे बडे हाकिमहरुका लैनचउर दूतावास दर्शन, शेरबहादुर रामचन्द्रप्रभृतिका विपथगामी हल्लना, मधेशवादी राजनेताहरुको विखण्डनमुखी अभिव्यक्ति र रक्षकहरुका रक्षाभक्षण कथालाई भजन बनाएर नाच्ने ? हामी जनजनका सपनामाथिको प्रहसन बनेको यो विपना हामी नेपाली जनताले चुपचाप उग्राइरहन सम्भव छ ?

बन जङ्गल, पहाड पर्बतका प्राकृतिक सौन्दर्य मासेर जथाभावी रुपमा कलभर्ट र सडक बनाउनु मात्र विकास होइन । यतिले देश विकसित भएको हुन्थ्यो त अहिलेसम्म खाडीअभिमुख युवालर्कन स्वदेशमै रोकिएको हुन्थ्यो । गइसकेकाहरु फर्केका हुन्थे । जाने लर्कन रोकिएको छैन । गएकाहरु फर्किएका छैनन् । यहाँ कति ठाउँमा विकासका नाममा विनाशले अग्रता पाएको अवस्था समेत छ । सडक र पुलहरुमा एकातिर अलपत्रे र गाइजात्रे पप्पूराज बढ्दो क्रममा छ भने अर्कातिर जन आवश्यकताको तीव्रताले प्राथमिकता पाएको पनि छैन । मुस्ताङ्गमा गुणस्तरीय नेपाली स्याउ ढुवानी नपाएर कुहिन्छ काठमाडौमा थामथुम पाररे बजारमा सजाइएका विदेशी स्याउ बिक्छन् । खाद्यान्न ढुवानीको समस्या त्यस्तै छ ।

जनप्रतिनिधिहरु आज पनि आफ्नै तलव भत्ता आवास र गाडीसुविधा बढाउने म्याराथुन दौडमा छन् ।

जनप्रशासन, आर्थिकप्रशासन, न्यायप्रशासन, विकासप्रशासन, शान्ति, सुरक्षा, र सीमासुरक्षालगायत हरेक क्षेत्र उत्तरोत्तर बढी विकृतिग्रस्त हुँदै आएका जनखबर सडक आँगनहरुमा बिस्कुन छन् । सुधार र सकारात्मक रुपान्तरणका लागि आत्तुरी बोकेर राजनीतिक इच्छाशक्ति दगुरेको कतै भेटिँदैन । मुलुकभित्रको फोहोर बढार्नका लागि इच्छाशक्तिको कुचो समात्नतिर ध्यानै नदिएर राजनेताहरु कथित प्रभुहरुको मन्दिर मन्दिरमा पुग्ने र चरणकमल समात्ने आतुरीमा फुक्काफाल देखिन्छन् ।

यो सवै देख्दा हामी जनतालाई लाग्छ, नयाँ नयाँ नारद भक्तिसूत्र निर्माणमा राजनेताहरुबीच आन्तरिक प्रतिस्पर्धा चलेको छ । देश र जनताका बास्तविक समस्यातिर गौर गरेर हेर्ने फुर्सत आज यहाँ कसैलाई छैन । यो कस्तो परिणतिको लक्षण हो ?

 

 

प्रतिक्रिया दिनुहोस्