ललितपुरमा बेसबल मैदान



काठमाडौं, (नेस)
ललितपुरको नखुडोलमा श्रीकुल लालीगुराँस बेसबल मैदान निर्माण गरिएको छ । ललितपुर नख्खुको श्रीकुल स्कुल र जापानको लालीगुराँस बेसबल क्लबको आर्थिक सहयोगमा निर्मित मैदानको नेकपाकी सांसद पम्फा भुसाल र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शनिबार संयुक्त रुपमा उद्घाटन गरे ।

ललितपुर–२५ नखुडोलमा पाँच रोपनी क्षेत्रफलमा निर्मित मैदान नेपालको पहिलो बेसबल मैदान भएको ललितपुर बेसबल संघका अध्यक्ष केशव थापाले जानकारी दिए । उनले मासिक ५० हजार रुपैयाँ भाडा तिर्नेगरी २५ वर्षका लागि जग्गा लिजमा लिएर मैदान निर्माण गरिएको बताए । जापानी क्लब लालीगुराँसको ७० प्रतिशत र श्रीकुल स्कुलको ३० प्रतिशत आर्थिक सहयोगमा निर्माण भएको मैदानमा बेसबलको नियमित प्रशिक्षण सुरु गर्ने थापाले जानकारी दिए । मैदान अभावमा खेलाडीले नियमित प्रशिक्षण गर्न नपाएपछि दाताको सहयोगमा मैदान निर्माण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्